काठमाडौं– नेपाल सरकारको आर्थिक वर्ष २०७९÷८० को बजेटमा भन्सार महसुल, अन्तःशुल्क लगायत राजस्वका दरहरूमा गरिएको प्रावधानबाट स्वदेशी उद्योग व्यवसाय प्रभावित भएकोमा नेपाल उद्योग वाणिज्य महासंघले आपत्ति जनाएका छ ।

विनापरामर्श र उद्यमी व्यवसायीको राय सुझावविपरीत एकतर्फी रूपमा बजेट र आर्थिक ऐनमा समावेश गरिएका प्रावधानले उद्योगलाई पर्न गएको समस्या तत्काल सम्बोधन गर्न महासंघ सरकारसँगले विज्ञप्तिमार्फत माग गरेको छ ।

स्टिल रोलिङ मिल तथा एमएस वायर उद्योग, वनस्पति घिउ–तेल उद्योग, सेनेटरी प्याड उत्पादन गर्ने उद्योगलगायतका उद्यम, व्यवसाय बजेटमा गरिएका व्यवस्थाका कारण बन्द हुने अवस्थामा पुगेको महासंघले जनाएको छ ।

महासंघका अनुसार एमएस वायर उद्योगले प्रयोग गर्ने कच्चा पदार्थ आयातमा भन्सार महसुल ५ बाट १० प्रतिशत र अन्तःशुल्क प्रतिटन २ हजार ५ सयबाट ४ हजार ५ सय पुर्याइँदा वायर स्टिल उत्पादन गर्ने उद्योगले आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुुगेका छन् ।

यसैगरी प्रशोधित पाम र पामोलिन तेल आयातमा ५ प्रतिशत भन्सार महसुल कायम गरी उक्त आयल प्रयोग गर्ने उद्योगलाई सिधै आयात गर्न दिने नीतिले सञ्चालनमा रहेका वनस्पति घिउतेल उद्योगहरू गम्भीर संकटमा जाने महासंघको भनाइ छ । ‘यो, स्वदेशी उद्योगको संरक्षणका लागि कच्चा पदार्थ र तयारी वस्तुुमा कम्तीमा १ तहको फरक भन्सार दर कायम गर्ने सरकारको नीतिको विपरीत पनि छ,’ महासंघको विज्ञप्तिमा भनिएको छ ।

सेनेटरी प्याड उत्पादन गर्ने उद्योगले कच्चा पदार्थ आयातमा तिर्दै आएको भन्सार महसुल, अन्तःशुल्क यथावत राखी तयारी प्याड आयातमा लाग्ने भन्सार शुल्कमा ९० प्रतिशतसम्म छुट दिँदा स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आई उद्योग नै बन्द हुने परिस्थिति उत्पन्न भएको महासंघले जनाएको छ ।

भन्सारमा अन्तःशुल्क लगाउने व्यवस्थाले गर्दा विभिन्न तहमा हुने औद्योगिक उत्पादनलाई प्रत्यक्ष असर पर्ने भएकाले कच्चा पदार्थमा भन्सारमै अन्तःशुल्क लगाउने व्यवस्था अन्त्य गर्न पनि महासंघ माग गरेको छ ।

आगामी आर्थिक वर्ष निर्यात दोब्बर गर्ने, आयात न्यूनतम २० प्रतिशतले घटाउने र आगामी ५ वर्षभित्र व्यापार सन्तुलन कायम गर्ने भनी बजेटमा उल्लेख भएबाट उत्साहित भएका उद्यमी व्यवसायीलाई यी प्रावधानले निराश बनाएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर