काडमाडौं– लमजुङमा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी, ३० मेगावाटको न्यादी जलविद्युत् गृहबाट आइतबार (आज) विद्युत् उत्पादन नहुने भएको छ । ती विद्युत् गृहबाट आइतबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्युत् उत्पादन बन्द भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

गत वर्षको १९ असारमा आएको पहिरोले ढालेको मध्यमर्स्याङ्दी–मर्स्याङ्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावरको ठाउँमा निर्माण गरिएको नयाँ टावरमा तार टाँग्न लाइन बन्द (सट डाउन) गरिएको हो । प्रसारण लाइन सट डाउन भएपछि उक्त लाइनमा जोडिएका विद्युत् गृहबाट विद्युत् उत्पादन बन्द भएको छ ।

पहिरोले मध्यमर्स्याङ्दी–मर्स्याङ्दी प्रसारण लाइन अन्तर्गत लमजुङको राइनास नगरपालिका–८, माझीगाउँस्थित ९ नम्बर टावर ढालेको थियो । प्राधिकरणले आपत्कालीन पुनर्स्थापना प्रणाली (इआरएस) जडान गरी गत वर्षको २ साउनबाट प्रसारण लाइन सञ्चालनमा ल्याएको थियो ।

अहिले उक्त स्थानमा नयाँ टावर निर्माण गरिएको छ । आइतबार इआरएस हटाई नयाँ टावरमा तार टाँगिने छ । करिब १५० मेगावाट विद्युत् उत्पादन बन्द हुने भएपछि प्राधिकरणले वैकल्पिक व्यवस्था गरी उपभोक्तालाई विद्युत आपूर्ति गर्ने जनाएको छ । आइतबार मध्यमर्स्याङ्दीबाट विद्युत् उत्पादन बन्द हुने भएपछि अरु दिनको तुलनामा भारततर्फ पनि विद्युत् निर्यात कम हुनेछ । आइतबार करिब साढे २ सय मेगावाट विद्युत् निर्यात हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर