काठमाडौं– आयात र निर्यात व्यापारलाई भन्सारसँग आवद्ध गरी अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न आगामी सातादेखि नेपाल राष्ट्रिय एकद्वार प्रणाली सुरु गरिने भएको छ ।

अर्थ मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा भन्सार विभागले आगामी सातादेखि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लान्ट क्वारेन्टाइन केन्द्रमा एकद्वार प्रणाली सुरु गर्ने जानकारी दिइएको हो ।

तीनवटा विभागबाट सुरु गरिने कार्यक्रम चरणबद्ध रुपमा विस्तार गरिने तथा त्यसमा सरकारी र निजी क्षेत्र सहभागी हुने मन्त्रालयले जनाएको छ ।

भन्सार विभागका अनुसार एकद्वार प्रणाली सुरु भएपछि तीनवटै विभाग र अन्तर्गतका कार्यालयमा डिजिटल प्रणाली सुरु हुनेछ । अब लाइसेन्स वा अनुमतिका लागि निकासी पैठारीकर्ताहरु विभाग तथा कार्यालय जानु पर्दैन । पेपरवर्क पनि नहुने अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एकद्वार प्रणाली सुरु भएपछि व्यापारसहज हुने, अनियमितता र राजस्व चुहावट नियन्त्रण हुने, कार्य सम्पादन छिटो र प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कार्यान्वयनका लागि दक्ष जनशक्तिको व्यवस्था गर्न र अनुगमन प्रणालीमा विशेष ध्यान आवश्यक रहेको बताए ।

कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले एकद्वार प्रणालीले सेवा प्रवाहलाई पारदर्शी बनाउने भन्दै सबै निकायमा पूर्ण रुपमा लागू गर्ने बताइन् ।

राजस्व सचिव रामशरण पुडासैनीले एकद्वार प्रणालीले राजस्व परिचालनमा थप सहयोग पुर्याउने बताए । भन्सार विभागका महानिर्देशक सुमन दाहालले व्यापारसँग जोडिएका सरकारी र निजी गरी ४० वटा निकायमा एकद्वार प्रणाली लागू गरिने जानकारी दिए ।

अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयबीचको समन्वय र सहकार्यमा एकद्वार प्रणाली लागू हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय