बर्लिन– युरोपका विभिन्न मुलुकमा कोरोना खोपको अभावमा खोप अभियान नै स्थगित गरिएको छ । बेलायतको कम्पनी एस्ट्राजेनेकाले उत्पादनमा देखिएको समस्याका कारण अनुमान गरिएभन्दा कम मात्रामा खोप उत्पादन हुने जनाएको छ ।

युरोपका विभिन्न स्थानमा फाइजर र बायोएनटेकले वाचा गरे अनुसार आपूर्ति नगरेपछि खोप कार्यक्रम प्रभावित भएको हो । अक्सफोर्डसँगको सहकार्यमा खोप विकास गरेको एस्ट्राजेनेकाको खोपलाई हालसम्म इयूको नियामक निकायले स्वीकृत गरिसकेको छैन ।

संक्रमितको संख्या उकालो लागिरहेका बेला अस्थायी रूपमा खोपको आपूर्ति घटाउँदा खोप अभियान प्रभावित भएको छ । यसै कारण जर्मनीको सबैभन्दा धेरै जनसंख्या भएको राज्य र इटालीका कयौं क्षेत्रमा खोपको पहिलो मात्रा दिने काम नै रोकिएको छ ।

म्यड्रिडमा स्वास्थ्यकर्मीलाई खोप दिन समेत बन्द गरिएको छ । गत साता फाइजरले आउँदा केही साताका लागि खोपको आपूर्ति ढिलो हुने जनाएको थियो । इयूले फाइजरबाट मात्र ६० करोड मात्रा खोप मगाएको थियो ।

उसले अर्को अमेरिकी कम्पनी मोडेर्नाको खोपलाई समेत स्वीकृति दिएको छ । इटली र पोल्यान्डले उत्पादन घटाएकोमा दुःख व्यक्त गर्दै यसको कानुनी उपचार खोज्ने बताएका छन् । युरोपेली आयोगले पनि स्वीकृत भइसकेका कोरोना भाइरसको खोपको आपूर्तिमा भइरहेको ढिलाइका विषयमा फाइजरसँग स्पष्टीकरण सोध्ने बताएको छ ।

इयूले हालसम्म स्वीकृति नदिए पनि हंगेरीले धेरै मात्रामा रसियाको स्पुत्निक भी खोप किन्ने जनाएको छ । हंगेरीले चीनको सिनोफार्मको खोप किन्न पनि सम्झौता गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय