काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापाको निलम्बन फुकुवा गरेको छ ।

आफ्नो १९औं साधारणसभाको पूर्वसन्ध्यामा एन्फाले १० महिनापछि अध्यक्ष थापालाई कारवाहीबाट मुक्त गरेको हो । अनुशासनको कारण देखाउँदै थापालाई एन्फाले गत जेठ ५ गते निलम्बन गरेको थियो । थापाले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै एन्फाले उनलाई कारवाही गरेको हो ।

एन्फा पदाधिकारीलाई सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरेको भन्दै अध्यक्ष थापालाई कारवाही गर्ने निर्णय गरेको थियो ।

आफूमाथि गरिएको कारवाहीविरुद्ध थापाले राष्ट्रिय खेलकूद परिषद् (राखेप), विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) मा समेत उजुरी दिएका थिए । एन्फाका महासचिव इन्द्रमान तुलाधरले साधारणसभासम्मका लागि मात्र थापालाई निलम्बन गरिएको जानकारी दिए ।

एन्फाको साधारणसभा मंगलबारदेखि सुरु भएको छ । एन्फाले मनाङ, खोटाङ र नवलपरासी पूर्वलाई आफ्नो सदस्यता प्रदान गर्नका लागि साधारणसभामा प्रस्ताव प्रस्तुत गरेको छ । साधारणसभाले सो प्रस्ताव पारित गरेमा एन्फाको सदस्य प्राप्त गर्ने जिल्लाको संख्या ४८ पुग्नेछ । यस्तै कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा गठन गरिएको तदर्थ समितिलाई समेत एन्फाले मान्यता दिने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय