काठमाडौं– अमेरिकाको सिलिकन भ्याली बैंक पतनबाट चीनका स्टार्ट अफहरुसमेत प्रभावित हुने भएका छन् । विशेष गर अमेरिकी डलर अंकित कोषबाट सहयोग पाएका स्टार्ट अपहरुसम्म सिलिकन भ्याली पतनको बाछिटा आइपुग्ने विशलेषकहरुले बताएका छन् ।

अमेरिकी नियामकहरुले गत शुक्रबार सिलिकन भ्याली बैंक बन्द गरिदिएका थिए । यो अमेरिकाको दोस्रो सबैभन्दा ठूलो बैंकिङ असफलता थियो । सिलिकन भ्याली बैंकले चीनका लगायत प्रविधिमा आधारित स्टार्ट अपहरुलाई वित्तीय सहयोग गरेर आफ्नो व्यवसाय चलाइरहेको थियो ।

सिलिकन भ्याली बैंकमा अनलाइनबाट खाता खोल्न मिल्ने प्रणालीले भेरिफिकेसनमा चिनियाँ मोबाइल नम्बरलाई अनुमति दिएको चिनियाँ टेक स्टार्ट अपका एकजनान संस्थापकले परिस्थितिको गम्भीर प्रकृतिका कारण नाम उल्लेख नगर्ने सर्तमा बताए । उक्त स्रोतले कुनै समय सिलिकन भ्याली बैंकमा आफ्नो लाखौं अमेरिकी डलर रहेको बतायो । त्यसयता आफूले अधिकांश रकम झिकेको तर अझै पनि २ लाख ५० हजार अमेरिकी डलर रहेको बताए ।

उक्त स्रोतका अनुसार एउटा मूलधारको भेन्चर क्यापिटलिस्टको सहयोगमा एउटा स्टार्ट अपले सिलिकन भ्याली बैंकमा एक साताभित्रै खाता खोल्न सक्थ्यो । ‘स्ट्यान्डर्ड चार्टर्ड, एचएसबिसी, सिटी जस्ता मूलधारका परम्परगत बैंकहरुको अनुपालना कठोर छ र उनीहरुमा बैंक खाता खोल्न लामो समय लाग्छ । यसले ३ देखि ६ महिना पनि लाग्न सक्छ,’ उनले भने ।

एउटा फिनटेक र अर्को टेक कम्पनीमा लगानी गरको उक्त स्रोतले भेन्चर क्यापिटलिस्टहरुले सिलिकन भ्याली बैंकसँग काम गर्न रुचाउँथे । किनभने उक्त बैंकले लगानीकर्तालाई स्टार्ट अपले उक्त रकम कसरी प्रयोग गर्छन् भन्ने कुरा हेर्न र अनुमोदन गर्न अनुमति दिन्थ्यो ।

‘यदि सिलिकन भ्याली बैंक भएन भने प्रविधि उद्योगमा क्षति पुग्नेछ किनभने यस्ता दुई किसिमका विशेषता प्रदान गर्ने अर्को बैंक छैन,’ स्रोतले छिटोछरितो खाता खोल्ने सुविधा र भेन्चर क्यापिटलिस्टको प्रत्यक्षतालाई संकेत गर्दै स्रोतले भन्यो ।

उक्त बैंकमा भएको खाताले चीनमा रहेका स्टार्ट अफहरुलाई अमेरिकास्थित लगानीकर्ताबाट वित्तीय स्रोत जुटाउन सजिलो बनाइदिएको थियो । त्यस्ता स्टार्ट अपलाई अमेरिकामा आइपिओ जारी गर्न पनि सजिलो हुन्थ्यो । बेइजिङ र वासिंगटन, डिसीको नियमनकारी दबाबले पछिल्ला दुई वर्षमा चीनबाट अमेरिकासममको आइपिओ पाइपलाइनको वृद्धिमा रोक लगाएको छ ।

चीनमा रहेका कति स्टार्ट अपको सिलिकन भ्यालीमा खाता छ भन्ने तत्काल यकिन नभए पनि सिएनबिसी स्रोतले युएस भेन्चर क्यापिटलबाट सहयोग लिएका चीनमा रहेका थुप्रै स्टार्ट अपहरुले उक्त बैंकमा खाता खोल्न चाहेका थिए ।

सांघाईको बायोटेक कम्पनी जाई ल्याबले गत डिसेम्बरको अन्त्यसम्ममा आफ्नो १.०१ अर्ब अमेरिकी डलर बराबरको नगद र नगद बराबरका वित्तीय उपकरणमध्ये २.३ प्रतिशत जति सिलिकन भ्याली बैंकसँग रहेको जनाएको छ । उसका अधिकांश नगद र नगद बराबरका वित्तीय उपकरणहरु जेपी मोर्गान चेज, सिटीग्रुप र बैंक अफ चाइना (हङकङ)सँग रहेको जाई ल्याबले एउटा आधिकारिक विज्ञप्तिमा उल्लेख गरेको छ ।

एभरेस्ट मेडिसिन्स नामको अर्को बायोटेक कम्पनीले आफ्नो १ प्रतिशतभन्दा कम नगद मात्र सिलिकन भ्यालीसँग रहेको बताएको छ । उसले आफ्नो अधिकांश निक्षेप अमेरिकी फेडेरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसनमार्फत फिर्ता हुने अपेक्षा गरेको छ । उक्त कम्पनीको मानक बिमाले प्रतिनिक्षेपकर्ता प्रतिबैंक २ लाख ५० हजार अमेरिकी डलर कभर गर्छ ।

सिलिकन भ्याली बैंकको सबैजसो निक्षेपको बिमा गरिएको छ । फेडेरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसनले बिमा नगरेका निक्षेपकर्ताले उनीहरुको ब्यालेन्सको रिसिभरसिप सर्टिफिकेट पाउने बताएको छ ।

चीनमा रहेको सिलिकन भ्याली बैंकको संयुक्त लगानी साझेदार सांघाई पुदोङ डेभपलमेन्ट बैंकले आफूसँग स्वतन्त्र ब्यालेन्स सिट रहेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय