काठमाडौं– डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्ष लगायत पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षमा सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ सर्वसम्मतिबाट निर्वाचित भएको एसोसिएसनले जानकारी दिएको छ ।

एसोसिएसनको चैत ३ गते चितवनमा सम्पन्न १७औं वार्षिक साधारणसभाले उपाध्यक्षमा
बोधराज देवकोटा (प्रमुख कार्यकारी अधिकृत, महालक्ष्मी विकास बैंक) सचिवमा रामकुमार गिरी (प्रमुख कार्यकारी अधिकृत, सिन्धु विकास बैंक) र कोषाध्यक्षमा नरेश सिंह बोहरा ( प्रमुख कार्यकारी अधिकृत, लुम्बिनी विकास बैंक) लाई चयन गरेको छ ।

सदस्यहरुमा प्रकाश पौडेल (प्रमुख कार्यकारी अधिकृत, साइन रेसुंगा डेभलपमेन्ट बैंक),
श्रीचन्द्र भट्ट (प्रमुख कार्यकारी अधिकृत, ज्योति विकास बैंक) र डा. इन्द्र कट्टेल (प्रमुख कार्यकारी अधिकृत एक्सल डेभलपमेन्ट बैंक) चुनिएका छन् ।

नवनियुक्त कार्यसमितिका पदाधिकारीको सपथग्रहण समेत सम्पन्न भइसकेको छ । उक्त साधारण सभाले आर्थिक वर्ष २०७८-७९ को लेखापरीक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, आर्थिक वर्ष २०७९-८० को अनुमानित आयव्यय र लेखापरीक्षक नियुक्तिलगायतका प्रस्ताव सर्वसम्मतिले पारित गरेको एसोसिएसनको विज्ञप्तिमा उल्लेख छ ।

सभामा निवर्तमान अध्यक्ष प्रद्युमन पोखरेलले कोभिड १९, रुस–युक्रेन युद्घ, बढ्दो मुद्रास्फिति लगायतका कारणले अहिले बैंकिङ क्षेत्र निकै अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको बताए । उनले सबै सदस्य बैंकहरुलाई जोखिम व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन र ग्राहक सेवालाई अझ चुस्त बनाउन अनुरोध गरे ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले सबैको सहयोगबाट विकास बैंकहरुको हक र हितका लागि काम गर्न लागि पर्ने प्रतिबद्धता जनाए । ९० वटा विकास बैंक घटेर १७ मा आइपुग्दा पनि बजार हिस्साका हिसाबले पहिले जति नै कायम राख्नु सक्नु आजका बिकास बैंकहरुको उपलब्धि भएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय