काठमाडौं– नेपालमा आयात, विक्रीवितरण तथा प्रयोग भइरहेका व्यक्तिगत सुरक्षाका सामग्री र खासगरी बाल सुरक्षा सामग्रीमा हार्मोन उत्पादनमा गडबडी ल्याउन सक्ने रसायन इन्डोक्राइन डिस्रप्टिङ केमिकल गम्भीर स्तरमा रहेको फेला परेको छ ।

जनस्वास्थ्य र वातावरण प्रवर्द्धन केन्द्रले विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुसँग मिलेर गरेको अध्ययनले त्यस्तो फेला पारेको हो ।
नेपालमा आयात, बिक्री र प्रयोग गरिने बच्चाको कोडोमो टुथपेस्टमा ४३.८५ माइक्रोग्राम प्रतिग्राम, ब्युटायल पाराबेन र कोडोमो किड्स माउथवासमा मिथाइल पाराबेन १०३९.३ माइक्रोग्राम प्रतिग्रामसम्म पाइएको संस्थाले बताएको छ । यो भनेको उच्च स्तर हो । त्यस्तै ह्यान्डवासमा ६६०.१ माइक्रोग्राम प्रतिग्राम र डिओडोरेन्टमा १.११ मिलिग्राम प्रतिग्राम ट्राइक्लोसान फेला परेको छ । फेमिन वासमा ०.०३ माइक्रोग्राम प्रतिग्राम र ह्यान्डवासमा ०.०४ माइक्रोग्राम प्रतिग्राम ट्राइक्लोकार्बन जस्ता हार्मोन उत्पादनमा गडबडी ल्याउन सक्ने रसायन फेला परेको संस्थाले जनाएको छ ।

बालबालिकाको व्यक्तिगत सुरक्षा सामग्रीमा हार्मोन उत्पादनमा गडबडी ल्याउन सक्ने रसायन पाराबेन पाइएसँगै उनीहरुले पहिलादेखि नै खेल्ने खेलौनामा पाइने गरेको सिसा, पारो, क्याडमियम, क्रोमियम, फ्थालेट्स, बीपीए र घर तथा विद्यालयमा प्रयोग हुने पेन्ट्समा पाइने उच्च स्तरको सिसाको अतिरिक्त हार्मोन उत्पादनमा गडबडी ल्याउन सक्ने रसायनहरू (ईडीसी)को दोहोरो जोखिममा रहेको जनस्वास्थ्य र वातावरण प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक रामचरित्र साहले बताए ।

केन्द्रले अध्ययनका लागि दक्षिण कोरियास्थित वोन्जिन इन्स्टिच्युट अफ अकुपेसनल एन्ड इन्भायरमेन्टल हेल्थ, कोरिया फाइनान्सियल इन्डस्ट्री फाउन्डेसन, दक्षिण कोरियाको सहयोगमा ‘इडीसी फ्री एसिया दोस्रो’ क्षेत्रीय पहलअन्तर्गत दक्षिण एसिया र दक्षिणपूर्व एसियाका आठ देशहरूका अन्य ११ गैरसरकारी संस्थासँग हातेमालो गरेको बताएको छ । यस अभियानमा आठ देशका १२ गैरसरकारी संस्था सामेल थिए । नेपालबाट जनस्वास्थ्य र वातावरण प्रवर्द्धन केन्द्र, मलेसियाबाट सीएपी, भियतनामबाट सीजीएफईडी, फिलिपिन्सबाट आईडीआईएस, ब्यान टक्सिक्स एन्ड इको वेस्ट कोइलिसन–इडब्लूसी, भारतबाट टक्सिक लिंक्स र पृथ्वी इनोभेसन, श्रीलंकाबाट सीईजे, इन्डोनेसियाबाट इकोटोन, गिता पेर्टिवी र बंगलादेशबाट ईएसडीओ अध्ययनमा सहभागी थिए ।

अध्ययनमा आठवटै देशबाट संकलित व्यक्तिगत सुरक्षा सामग्रीका ३६२ नमूना समावेश थिए । तीमध्ये ११६ बाल सुरक्षा सामग्री थिए । यी नमूनाहरू प्रमुख रूपमा आठ प्रकारका रहेको संस्थाले जनाएको छ । जसमा एन्टी भाइरस वाइप्स, बेबी वाइप्स, डिओडोरेन्ट, टुथपेस्ट, बडी वास, फेमिनिन वास, ह्यान्डवास र माउथ वास जस्ता सुरक्षा सामग्री समावेश थिए । कुल नमूनामध्ये नेपालमा सुपरमार्केट, डिपार्टमेन्टल स्टोर र औषधि पसलबाट खरीद गरी संकलन गरिएका ३० वटा व्यक्तिगत सुरक्षा सामग्रीका नमूनाहरू अध्ययनमा समावेश गरिएको थियो ।

कुल ११६ बाल सुरक्षा सामग्रीका नमूनामा नेपालका ७.७६ प्रतिशत अर्थात ९ नमूना समावेश थिए । यी सुरक्षाका सामग्रीका नमूनामा उच्च कार्यसम्पादन गर्न सक्ने लिक्विड क्रोमेटोग्राफी–मास स्पेक्ट्रोमेट्री प्रयोग गरेर कुल ११ (नौ प्रकारका पाराबेन, ट्राइक्लोसान र ट्राइक्लोकार्बन) प्रकारका प्रख्यात र प्रायः सुरक्षाका सामग्रीमा प्रयोग हुने रसायनहरूको विश्लेषण गरिएको थियो ।

हार्मोन उत्पादनमा गडबडी ल्याउन सक्ने रासायनहरू पाराबेन, ट्राइक्लोसान र ट्राइक्लोकार्बनको नतिजा सहभागी देशहरूमा धेरै चिन्ताजनक पाइएको छ । लेबलबिनाका सामग्री नेपालसहित ८ वटै देशमा फेला परेको पनि अध्ययन प्रतिवेदनमा उल्लेख छ । उत्पादनमा प्रयोग भएका रसायनबारे लेबलिङ भएका सामग्री ९१.२ प्रतिशत र लेबलिङबिनाको ८.८ प्रतिशत थिए । देशअनुसार, लेबलिङको परिपालना नगरेको स्थिति नेपालमा ३.३ प्रतिशत, मलेसियामा ९.४ प्रतिशत, भियतनाममा १३.३ प्रतिशत, फिलिपिन्समा ७.७ प्रतिशत, भारतमा ८.८ प्रतिशत, श्रीलंकामा १० प्रतिशत, इन्डोनेसियामा ६ प्रतिशत र बंगलादेशमा १३.३ प्रतिशत रहेको संस्थाको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल सहित सबै सहभागी देशमा त्रुटिपूर्ण लेबलिङ पहिचान गरिएको थियो । उत्पादनमा प्रयोग भऐका रासायनबारेको लेबलिङ भएका उत्पादनमा पाराबेन, ट्राइक्लोसान, ट्राइक्लोकार्बन जस्ता लक्षित रासायनबारे छुट्टै लेबल नभएका २६९ नमुना थिए । जसमध्ये २२.३ प्रतिशत नमुनामा पाराबेन, ट्राइक्लोसान, ट्राइक्लोकार्बन जस्ता लक्षित रसायनहरू पत्ता लागेको थियो । अर्थात तिनीहरूमा गलत रूपमा वा त्रुटिपूर्ण लेबल गरिएको थियो ।

लक्षित रसायनहरूबारे छुट्टै लेबल नभएका सामग्रीमध्ये नेपालमा ८, मलेसियाका १५, भियतनाममा १, फिलिपिन्समा ५, भारतमा १५, श्रीलंकामा ५, इन्डोनेसियामा ६ र बंगलादेशका ५ वटा गरी कुल ६० सामग्रीमा पाराबेन, ट्राइक्लोसान, ट्राइक्लोकार्बन जस्ता लक्षित रसायन पत्ता लागेको थियो । विशेष गरी, ६ नमुनाहरूमा १०० माइक्रोग्राम प्रतिग्रामभन्दा बढी चार पाराबेन योगफल भएको पुष्टि भएको थियो । दुई नमुनामा १०० माइक्रोग्राम प्रतिग्रामभन्दा बढी ट्राइक्लोसान समावेश भएको पुष्टि भएको बताइएको छ । महिलाहरूले गोप्य अंगको संक्रमण रोक्न प्रयोग गर्ने फेमिन वासका ३१ नमुनामध्ये एउटामा ट्राइक्लोसान ०.३५० माइक्रोग्राम प्रतिग्राम मात्रामा पाइएको छ । फेमिन वासमा ट्राइक्लोसानको प्रयोग विल्कुलै जरूरी छैन ।

नेपालबाट अध्ययनमा समावेश गरिएका बाल सुरक्षाका सामग्रीका ९ नमुनामध्ये एउटा नमुनामा ब्युटाइल पाराबेन ४३.८५ माइक्रोग्राम प्रतिग्राम मात्रामा पत्ता लागेको छ । यसलाई उच्च मानिन्छ । धेरै देशहरूमा व्यक्तिगत सुरक्षा सामग्रीमा प्रतिबन्ध छ । पाराबेन, ट्राइक्लोसान र ट्राइक्लोकार्बनको प्रयोगसम्बन्धी नेपालमा कुनै ऐन, नियम र मापदण्ड छैन र त्यसैले नेपालमा व्यक्तिगत सुरक्षाका सामग्रीमा हार्मोन उत्पादनमा गडबडी ल्याउन सक्ने रसायनहरू (पाराबेन र ट्राइक्लोसान र ट्राइक्लोकार्बन) को नियमन गर्न केन्द्रका कार्यकारी निर्देशक र वातावरण वैज्ञानिक रामचरित्र साहले जोडदार माग गरेका छन् ।

नेपालबाट अध्ययनमा समावेश गरिएका ३० वटा व्यक्तिगत सुरक्षा सामग्रीका नमुनामध्ये १२ अर्थात् ४० प्रतिशतमा मिथाइल पाराबेन, ३ अर्थात १० प्रतिशतमा प्रोपाइल पाराबेन, एउटा अर्थात ३.३ प्रतिशतमा ब्यूटाइल पाराबेन, ६.७ प्रतिशतमा ट्राइक्लोसान र ६.७ प्रतिशतमा ट्राइक्लोकार्बन जस्ता लक्षित रसायन पाइएको छ । यी हानिकारक रसायनबाट आम नेपाली र खासगरी बालबालिकालाई बचाउन, नेपाल सरकार, जनसंख्या तथा स्वास्थ्य मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, अर्थ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय एवं सम्बन्धित विभागहरूले तत्काल आवशयक ऐन, नियमावली लगायत बाध्यकारी मापदण्ड तोकी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने संस्थाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय