काठमाडौं– नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटही नीतिलाई खुकुलो बनाएको छ । केन्द्रीय बैंकले बुधवार एकीकृत परिपत्र २०८० संशोधन गर्दै व्यापारिक, उपचार र शैक्षिक प्रयोजनको लागि विदेशी मुद्रा सटही सुविधाको सीमा बढाएको छ ।

नयाँ व्यवस्थाअनुसार आयातकर्ताले ओरिजिनल डकुमेन्ट पेश गर्न थप समय पाएका छन् । अब विदेशी मुद्रा सटही सुविधा लिएकोे ६० दिनभित्र ‘ओरिजिनल डकुमेन्ट’ पेश गर्न पाइनेछ । हालसम्म यसमा ४५ दिनको म्याद पाइन्छ ।

नयाँ व्यवस्थाअनुसार ‘कपी डकुमेन्ट’को आधारमा विदेशी मुद्रा सटही जारी भएको ६० दिनभित्र ‘ओरिजिनल डकुमेन्ट’ पेश गर्न सकिनेछ ।

यसैगरी विदेशी मुद्रा सटही सुविधा लिएको ९० दिनभित्र सामान ल्याउनुपर्नेमा त्यसलाई बढाएर १२० दिन बनाएको छ ।

नेपाली नागरिकले विदेशमा उपचार गराउन वा स्वास्थ्य उपकरण किन्न १५ हजार डलरसम्म सटही सुविधा पाउनेछन् । अहिले यस्तो सुविधाको सीमा १० हजार अमेरिकी डलर छ ।

अब नेपाली नागरिकले विदेश घुम्न जाँदा २ हजार ५०० अमेरिकी डलर साट्न पाउनेछन् । अहिले यो प्रयोजनको लागि १ हजार ५०० डलर साट्न पाइन्छ ।
विदेशी विश्वविद्यालयको सम्बन्धनमा खुलेका शिक्षण संस्थाले सम्बन्धन, परीक्षा लगायत शुल्क भुक्तानीको लागि १२ हजार डलरसम्म सटही सुविधा पाइरहेकोमा बढाएर २५ हजार डलर बनाइएको छ ।

हवाईजहाज, दूरसञ्चार र मेडिकल उपकरणका पार्टपुर्जाहरू तत्कालै विदेशबाट मगाउनु परेमा र विक्रेताले उधारोमा दिएमा १० हजार अमेरिकी डलरसम्म मूल्यका सामान अन्तरराष्ट्रिय विमानस्थल भन्सार नाकाबाट आयात गर्न सकिने सीमा बढाएर एक लाख डलर पुर्याएको छ ।

देशमा विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च बिन्दुमा पुगेपछि राष्ट्र बैंकले विदेशी मुद्रा सटहीमा खुकुलो नीति लिएको हो ।

राष्ट्र बैंकको ताजा प्रतिवेदनअनुसार भदौ मसान्तसम्ममा देशको बैंकिङ प्रणालीमा २१ खर्ब ५२ अर्ब ५३ करोड रुपैयाँ बराबर विदेशी मुद्रा छ । उक्त विदेशी मुद्रा सञ्चिति १६ दशमलव ८ महिनाको वस्तु र १३ दशमलव ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने केन्द्रीय बैंकको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर