युनिभर्सिटी अफ साउथ फ्लोरिडाका जनस्वास्थ्य अनुसन्धानकर्ताले लामखुट्टे कहाँ बस्छ भनी पत्ता लगाउन सक्ने नयाँ प्रविधि विकास गरेका छन् । यो प्रविधि अहिले अफ्रिकाको धेरै क्षेत्र तथा फ्लोरिडाकै टम्पा खाडी क्षेत्रमा कीट नियन्त्रण एजेन्सीहरूले प्रयोग गरिरहेक छन् । यस प्रविधिको सहायताले मलेरिया फैलाउने लामखुट्टे पत्ता लगाएर मार्न सकिन्छ ।
एसोसिएट प्रोफेसर बेन्जामिन जेकबद्वारा विकसित स्मार्टफोनको एपले ड्रोन र स्याटेलाइट छवि (इमेज वा फोटो) सँग आफ्नो एल्गोरिदमहरू संयोजन गर्छ । अनि पहिले अज्ञात रहेका लामखुट्टेको प्रजनन क्षेत्र पहिचान गरेर सबै लामखुट्टे खत्तम गरिन्छ ।
यो प्रविधिको सफलतापछि बेन्जामिन जेकबले सिक एन्ड डिस्ट्रोय (खोज्ने र विनाश गर्ने) भन्ने कार्यक्रम नै सुरू गरे र कम्बोडिया, युगान्डा, केन्या र रुवान्डाका संक्रामक क्षेत्रहरूमा मलेरियाको प्रकोप बढ्नुअघि नै एप प्रविधिको सहायताले लामखुट्टेको विनाश गर्न सरकारी एजेन्सीहरूलाई तालिम दिने कार्यक्रम सुरू गरेका छन् ।
जेकब भन्छन्, ‘जुन देशमा यसको प्रकोप बढी छ, त्यसलाई वर्णन गर्नै सकिँदैन, यो एउटा त्रासदीजस्तै हो । स्थानीयवासीलाई तालिम दिनु मेरो लागि ठूलो कुरा हो । तिनीहरू यो प्रविधिको बारेमा जानकारी चाहन्छन् र उनीहरू मलेरिया रोक्न जे गर्न पनि तयार छन् भन्ने मलाई लाग्छ ।’
जेकबले आफ्नो अधिकांश अनुसन्धान युगान्डामा गरेका हुन्, जहाँ मलेरिया मृत्युको प्रमुख कारण हो । युगान्डामा मलेरियाले विशेष गरी पाँच वर्षमुनिका बालबालिकाहरूलाई अकालमै मार्छ । अमेरिकन जर्नल अफ एन्टोमोलोजीमा प्रकाशित आलेखअनुसार जेकबको अध्ययन गरेका १२० घरहरूमध्ये प्रत्येकमा कम्तीमा २०० वटा लामखुट्टेहरू भेटिएका थिए ।
जनस्वास्थ्य अनुसन्धानकर्ता बेन्जामिन जेकब
आफूले प्रशिक्षित गरेका स्थानीय कीट नियन्त्रण अधिकारीहरूको सहयोगमा, जेकबले ड्रोनको सहायताबाट ३१ दिनमा १०० प्रतिशत पहिचान गरिएका लामखुट्टेका बासस्थानहरू नष्ट गर्नुका साथै र ६२ दिनमा पहिले उपचार गरिएका र मलेरिया शंकास्पद बिरामीहरूको रगतमा परजीवी स्तर हटाउन सफल भएका थिए ।
यो प्रविधिले कसरी काम गर्छ ?
यो प्रणालीले विशेष वातावरण र जीवहरूलाई प्रजाति वा बासस्थानसँग सम्बन्धित रातो–हरियो–निलो रङको एक अर्कासँग नमिल्ने खालको ‘फिंगरप्रिन्ट’ द्वारा पहिचान गरेर काम गर्दछ । लामखुट्टे खोजेर नष्ट गर्ने काममा पूर्ण सफल हुनका लागि, जेकबले आफ्नो ड्रोनलाई एल्गोरिदमहरू मार्फत लामखुट्टे बस्ने सक्ने सिमसार वा झ्याङजस्ता वस्तुहरूलाई बुझ्न सक्ने गरी इमेजहरूको डेटासेटहरू व्याख्या गर्न र क्याप्चर गर्न सक्षम बनाउनुभयो। ड्रोनले प्रत्येक इमेजलाई विश्लेषण गर्ने र ती सतह पानी भए नभएको पहिचान गर्न सक्ने बनाइयो ।
त्यसपछि डेटालाई लामखुट्टेको लार्भाको उपस्थिति वा अनुपस्थितिको आधारमा विभिन्न वर्गीकरण गर्ने र पानीले लामखुट्टेलाई प्रजनन गर्न मदत गर्छ कि गर्दैन भन्ने पत्ता लगाउन सक्ने बनाइयो । जेकबको एल्गोरिदमसँग जोडिएको, ड्रोनले लामखुट्टेहरू प्रजनन गर्ने सम्भावना रहेको पानीको श्रोत पत्ता लगाउने काम १०० प्रतिशत सही थियो ।
जेकबले सन् २०१० देखि लामखुट्टेको अनुसन्धान गरिरहेका छन्, त्यसको १० वर्षपछि मात्र ड्रोनको कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स) एल्गोरिदम परीक्षण गर्न थालेका हुन् । त्यसपछि मात्र लामखुट्टे नियन्त्रणमा म्यापिङको सम्भावित क्षमता पत्ता लाग्यो । ‘लामखुट्टे छ कि भनेर पूरै खेतमा स्प्रे गर्नुको सट्टा हामी अहिले लामखुट्टे भएको ठाउँ पत्ता लगाएर त्यहाँ मात्रै औषधी छर्कन्छौं,’ जेकब भन्छन् ।
लामखुट्टे बस्ने ठाउँको ठ्याक्कै पहिचान गर्ने क्षमताका कारण हानिकारक कीटनाशकहरूको प्रयोग कम हुन्छ र लामखुट्टेमा पनि त्यस्ता कीटनाशक विषादीको प्रतिरोधी क्षमता निर्माणको जोखिम पनि कम हुन्छ ।
जेकबको म्यापिङले हिल्सबरो, मानाटी र पोल्क काउन्टीमा डेंगु र जिका भाइरस बोक्ने ९,००० भन्दा बढी लामखुट्टे बस्ने ठाउँ पत्ता लगाएर नष्ट गरिएको छ । जेकब अहिले स्थानीय अधिकारीहरूलाई एपमा प्रशिक्षण दिइरहेका छन् र यसको लार्भा नियन्त्रण प्रणाली सन् २०२३ मा पूर्ण हुने आशा गरिएको छ । (आइएनएस स्वतन्त्र समाचार)