काठमाडौं– छिमेकी भारतले उपभोक्ताबाट असुल गरिने वस्तु तथा सेवा करका दरहरुमा व्यापक परिवर्तन गरेको छ । करका दरमा गरिएको हेरफेरबाट उपभोग्य लगायत दर्जनौं वस्तु सस्तिने र चुरोट, सुर्तीजन्य पदार्थ, कार्बोनेटेड पेय, मोटर कार लगायत वस्तु महँगिने भएका छन् ।

संघीय वित्त तथा कर्पोरेट मामिलामन्त्री निर्मला सिथारमणको नेतृत्वमा सेप्टेम्बर ३ मा सम्पन्न भारतको जीएसटी काउन्सिलको ५६औं बैठकले जीएसटीको दर हेरफेर गर्ने निर्णय गरेको हो ।

जीएसटीका दरमा गरिएको हेरफेरसँगै भारतमा वस्तुको मूल्यमा पनि हेरफेर हुने भएको छ । जीएसटी दरमा गरिएको परिवर्तनबाट अल्कोहल नमिसाएको पेय, पान मसला, गुलिया पेय पदार्थ, फलफूलको जुस सहित कार्बोनेटेड पेय, क्याफिनेटेड पेय, सिगार र चुरोट, सुर्तीजन्य पदार्थ, १२०० सिसीभन्दा माथि इन्जिन क्षमता र ४००० एमएमभन्दा लामो बडी भएको कार महँगिने भएका छन् । यी वस्तुमा लाग्ने जीएसटी २८ बाट बढाएर ४० प्रतिशत पुर्याइएको छ ।

त्यसैगरी लेख्ने कापी, सिसाकलम, नक्साको जीएसटी १२ प्रतिशतबाट शून्य गरिएको छ । कन्फेक्सनरी, कोकोआ पाउडर, चकलेट, पेस्ट्री, बिस्कुट, केक, कफीबाट निकालिएको पदार्थ र सुपको जीएसटी १८ बाट ५ प्रतिशतमा झारिएको हुँदा यी वस्तुहरु सस्तिने भएका छन् ।

त्यसैगरी पास्ता, जाम र फलफूलको जेली, नरिवलको पानी, कफी, तोरी, मायोनिज, नमकिन, डाइबेटिक खानेकुरा, पिउने पानी, सोयामिल्क, फलफूलको जुस, दूध राखिएको पेय, खुद्रा औषधिमा जीएसटी १२ बाट ५ प्रतिशतमा झारिएको छ ।

यो परिवर्तनबाट पनिर, कन्डेन्स्ड मिल्क, बटर, चिज, छोकडा, प्रतिजोर २५०० रुपैयाँभन्दा कम मूल्यका फुटवेयर, छाता, पानी तताउने सोलार हिटर, साइकल, म्याथम्याटिकल बक्स, चस्माको लेन्स लगायत पनि सस्तिनेमा परेका छन् ।

हेयर आयल, नुहाउने साबुन, स्याम्पु, दाँत माझ्ने ब्रस, मञ्जन, साइकल, टेबलवेयर, किचनवेयर र अन्य घरेलु सामानको पनि मूल्य घट्नेछ ।
त्यसैगरी एयर कन्डिसनर, टेलिभिजन, भाँडा माझ्ने मेसिन, साना कार र ३५० सिसीभन्दा कम इन्जिन क्षमतामा मोटरसाइकलको पनि जीएसटी घटाइएको २८ प्रतिशतबाट घटाएर १८ प्रतिशत कायम गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय