काठमाडौं– नेपाल चार्टर्ड एकाउन्टेन्स संघ (एक्यान)ले आफ्ना सदस्यलाई नेपालमै अध्ययन गरेर मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटीबाट स्नातकोत्तर डिग्री लिन सक्ने व्यवस्था मिलाएको छ । एसिया प्यासिफिक युनिभर्सिटीको डिग्रीलाई नेपालको त्रिभुवन विश्वविद्यालय लगायत विश्वभरका विख्यात विश्वविद्यालयले समकक्षता दिएका छन् ।

सोको लागि संघले उक्त युनिभर्सिटीको सम्बन्धन प्राप्त गरी नेपालमा ट्युसन कक्षाहरु सञ्चालन गरिरहेको लर्डबुद्ध एजुकेसन फाउन्डेसन (एलबिइएफ) सँग समझदारी गरेको हो ।

शुक्रबार एलबिइएफका अध्यक्ष पंकज जालान र एक्यानका अध्यक्ष आनन्द शर्माले शैक्षिक सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । समझदारी अनुसार उक्त युनिभर्सिटीबाट सञ्चालित एमबिए कार्यक्रममा संघको सिफारिसमा अध्ययन गर्ने विद्यार्थीलाई लर्डबुद्ध अन्तर्गतको कलेज फर प्रोफेसनल स्टडिजले ट्युसन फीमा २५ प्रतिशत छात्रवृत्ति समेत उपलब्ध गराउने छ ।

यो एमबिए कार्यक्रम वर्किङ प्रोफेसनलका लागि विकेन्ड मोडमा सञ्चालित रहेको कलेजले जनाएको छ । विकेन्ड मोडमा विद्यार्थीहरुले शुक्रबार र शनिबार मात्रै कलेज आउनुपर्ने हुन्छ । शुक्रबार बेलुका ४ः३० देखि ८ः३० बजेसम्म र शनिबार विहान ८ः०० देखि बेलुका ४ः०० बजेसम्म कक्षा सञ्चालन हुनेछ । शनिबार कलेजले दिउँसो खाना पनि उपलब्ध गराउने जनाएको छ ।

लर्डबुद्ध एजुकेसन फाउन्डेसनमा अध्ययनरत विद्यार्थीलाई एसिया प्यासिफिक युनिभर्सिटीका ११ वटा अनलाइन लाइब्रेरीमा पहुँच उपलब्ध हुनेछ ।

काठमाडौंको मैतीदेवीस्थित नेपालकै पहिलो आइटी कलेज लर्डबुद्ध एजुकेसन फाउन्डेसन एसिया प्यासिफिक युनिभर्सिटीको सम्बन्धन प्राप्त संस्था भएको दुवै संस्थाले शुक्रबार जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

लर्डबुद्धबाट हालसम्म आठ हजारभन्दा बढी व्यक्तिले सूचना प्रविधि, व्यवस्थापन लगायतका अन्य विधामा स्नातक र स्नातकोत्तर तहको शिक्षा प्राप्त गरिसकेका छन् । नेपाल सरकार शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले एलबिइएफलाई यी कार्यक्रमहरु सञ्चालन गर्ने अनुमति प्रदान गरेकोे छ भने त्रिभुवन विश्वविद्यालयले समकक्षता प्रदान गरेको छ ।

एक्यान र एलबिइएफको समझदारीले हाल सिए उत्तीर्ण गरी स्नातकोत्तर अध्ययन गर्न चाहने तर त्रिभुवन विश्वविद्यालयले प्रोफेसनल कोर्सलाई दिँदै आएको समकक्षता स्थगित गरेको कारणले यस शैक्षिक सत्रमा उक्त मौका नपाउने चार्टर्ड एकाउन्टेन्टहरुलाई अध्ययनको ढोका खोलेको संघका अध्यक्ष शर्माले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय