वीरगन्ज– छिमेकी मुलुक भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग धराशयी हुँदै गएका छन् । भारतीय प्रतिबन्धले नेपाली उद्यमीको ठूलो लगानी जोखिममा परेको छ । यद्यपि पाम आयलको माग भारतमा उच्च छ ।

नेपालबाट निकासी हुने प्रमुख वस्तुमा पाम आयल पर्छ । इन्डोनेसिया, क्यानाडालगायत तेस्रो मुलुकबाट भारतको बाटो गरी आयात भई नेपाल भित्रिने तथा नेपालमा प्रशोधन गरी पुनः भारतीय बजारमा जाँदा भारतीय उद्योग प्रभावित हुने गरेकाले भारत सरकारले पाम आयलमा प्रतिबन्ध लगाएको हो ।

नेपाल चामल, दाल, तेल उद्योग संघका अध्यक्ष सुवोधकुमार गुप्ताले भन्छन्, ‘पाम आयलको आयातमा भारतले एकपक्षीयरूपमा प्रतिबन्ध लगाउँदा यसले पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग बन्द हुने अवस्थामा पुगेका छन् ।’

वीरगन्ज भन्सार नाका हुँदैअघिल्लो वर्ष नेपालबाट भारततर्फ १८ अर्ब ३१ करोडको पाम आयल निर्यात भएको थियो । पर्सा, बारामा रहेको १४ उद्योगले वीरगन्ज भन्सार नाकाबाट मात्रै ११ अर्ब ७२ करोड मूल्य बराबरको एक लाख ६० हजार मेट्रिक टन पाम आयल भारत निकासी गरेका थिए । तर भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि गत वैशाखदेखि यसको निकासी हुन नसकेको वीरगन्ज भन्सार कार्यालयका भन्सार अधिकृत रमेश सुकमनीले बताए ।

भारतमा पाम आयल निर्यात गर्न नपाएर अहिले उद्योगी सोयाबिनको प्रशोधित तेल निकासी गरिरहेको जानकारी दिँदै ओसिबी फुड्सका सञ्चालक सुरेश रुगंटाले भने, ‘पाम आयल निकासी गर्ने भनेर यो क्षेत्रका अधिकांश उद्योग आफ्नो क्षमता विस्तार गरेका थिए तर पाम आयल निर्यातमा भारतले एकाएक प्रतिबन्ध लगाएपछि उद्योगमा गरिएको लगानी डुब्ने डरले उद्योगी बाध्य भएर सोयाबिन तेल निकासीमा जोड दिएका छन् ।’

नेपालमा प्रशोधन भई भारत जाने पाम आयलले ८० प्रतिशत भारतीय बजारमा कब्जा जमाएकाले त्यहाँबाट विदेशी मुद्रा नेपाल आउँदा यहाँको उद्योग फस्टाउँदै गरेको थियो । तर भारतले प्रतिबन्ध लगाएपछि ती उद्योगको घाटा उच्च भएको र उद्योगलाई रुग्ण हुनबाट जोगाउन पाम आयलको ठाउँमा भटमासको तेल प्रशोधन गरी निर्यात गर्न थालेको अर्का उद्योगपति सन्दीप गाडियाले बताए ।

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नौ अर्ब १० करोड मूल्य बराबरको ६३ हजार १०१ मेट्रिक टन भटमासको प्रशोधित तेल भारततर्फ निर्यात भएको छ । निर्यातको शीर्षस्थानमा भटमासको तेल रहेको छ । अघिल्लो वर्षको समीक्षा अवधिमा करिब दुई अर्बकोे १४ हजार ९२४ मेट्रिक टन यस्तो तेल निर्यात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

नेपाली उत्पादन भारतमा जाँदा भारतीय उद्योग प्रभावित हुन थालेपछि भारत सरकारले यस्तो कदम चालेको उद्योगी बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय