चितवन– नागढुंगा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडक स्तरोन्नतिसँगै चार्डपर्वलाई लक्ष्य गरी मर्मत गर्न थालिएको छ । दशैंमा यो सडक हुँदै आवतजावत गर्नेको संख्या बढी हुने भएकाले कालोपत्रबाहेक खाल्डाखुल्डी पुर्ने र सम्याउने काम थालिएको हो ।
पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार दशैंअघि कालोपत्रबाहेक सडकका सानाठूला खाल्डा पुर्ने गरी काम थालिएको हो । ‘दशैं, तिहारमा आवतजावत गर्ने यात्रीको संख्या बढी हुने भएकाले उहाँहरूको सहजताका साथै दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले मर्मतमा केन्द्रित भएका छौं ।’
ठूला खाल्डा भएका ठाउँमा बाहिरबाट गिट्टी लगेर भर्न थालिएको र सडक सम्याउने काम पनि भइरहेको प्रमुख नेपालले जानकारी दिए । उनका अनुसार सो खण्डको ३८ किलोमिटरमध्ये ८ किलोमिटर कालोपत्र गरिसकिएको छ । ‘अरु केही भागमा कालोपत्र गर्ने तयारी गरिएको छ । त्यसबाहेकका खाल्डो परेका ठाउँहरूमा मर्मतसम्भारको काम थालिएको हो,’ उनले भने ।
बर्खाको बेला कालोपत्र गर्न नमिल्ने भएकाले सडकको छेउमा ‘स्टिल’ राख्ने तथा ‘आरसीसी सेफ्टिबेरियर’को काम भइरहेको उनको भनाइ छ । नाली पनि निर्माण गरिएको छ । सो खण्डमा पर्ने ६ मध्ये ४ ओटा पुलको काम अन्तिम चरणमा पु¥याइएको नेपालले जानकारी दिए । उनका अनुसार मौवा खोला, खटौती र गौमती पुलको ढलान सकेर पहुँच सडकको काम भइरहेको छ ।
वारबाङ् पुल एक साताभित्र ढलान गरिँदै छ । यी ४ ओटै पुल दुई महीनाभित्र सम्पन्न भई सवारीसाधन सञ्चालन गरिने नेपालले बताए । ‘बाँकी रहेका चरौंदी पुलमा ३ ओटा फाउन्डेसनमध्ये २ ओटा सकिएको छ भने हुग्दीको ३ ओटा फाउन्डेसनमध्ये एउटा सकिएको छ,’ उनले भने । यी दुई पुल आगामी वर्षको मनसुन शुरू हुनुअघि सक्ने लक्ष्य छ ।
आयोजनाका इन्जिनियर विजय दरैका अनुसार हालसम्म सडक स्तरोन्नति ३५ प्रतिशत सम्पन्न भएको छ । ‘यस खण्डमा २ दशमलव २ किलोमिटर ६ लेनको बन्नेछ, जुन मलेखु, बेनीघाट र मुग्लिन खण्डमा पर्छ । ७ दशमलव २ किलोमिटर सडक चार लेन हुनेछ,’ उनले भने ।
रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझिमटार, चरौंदी र विशालटार क्षेत्रमा ४ लेख पर्ने जनाउँदै दरैले उकालो–ओरालो खण्डमा तीन लेनको ‘क्लाइम्बिङ’ मार्ग बनाइने बताए । उनका अनुसार ‘क्लाइम्बिङ’ मार्ग २ दशमलव ३ किलोमिटर हुनेछ । बाँकी सडक २ लेनको हुनेछ ।
२०७९ पुस १५ गते ३ वर्षमा सम्पन्न गर्नेगरी यो सडक ठेक्का लगाइएको थियो । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नागढुंगा खण्डलाई ३ चरण बनाएर बोलपत्र आह्वान गरिएको हो । यो तेस्रो चरणअन्तर्ग पर्छ । यसमा ३८ दशमलव ८६ किलोमिटर सडक पर्ने आयोजना प्रमुख नेपालले जानकारी दिए ।
शर्मा–जेडआइसिजीले ४ अर्ब ८० करोड ५९ लाख रुपैयाँमा यो खण्ड स्तरोन्नतिको ठेक्का लिएको हो । सडकको विभिन्न क्षेत्रमा नाला बनाउने, पहिरो रोकथामका लागि संरचना निर्माण, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षालगायत काम गर्नुपर्ने इन्जिनियर दरैले उल्लेख गरे ।
उनका अनुसार यो सडक विश्व बैंकको सहयोगमा बनाउन लागिएको हो । काठमाडौं प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रूपमा यो खण्ड रहेको छ । सडकमा सवारीको उच्च चाप र कच्चा पदार्थ पाउन कठिन हुँदा काममा ढिलाइ भएको निर्माण कम्पनीको भनाइ छ । साथै शुरूका वर्षमा डिजाइन परिवर्तन हुँदा पनि काममा ढिलाइ भएको दरैले बताए ।









