काठमाडौं– चिनियाँ वैज्ञानिकहरूले बोन–०२ नामक क्रान्तिकारी मेडिकल गम (एड्हेसिभ) सार्वजनिक गरेका छन्, जसले तीन मिनेट मै हाडजोर्नीका भाँच्चिए वा फुटेका भागहरू जोड्न सक्ने बताइएको छ । यो सफलताले हाडजोर्नी शल्यक्रियाको क्षेत्रमा ठूलो परिवर्तन ल्याउने सम्भावना छ ।
झेजियाङ प्रान्तको सर रन रन सा अस्पतालका डा. लिन सियानफेङको नेतृत्वमा भएको उक्त अनुसन्धान परियोजना समुद्री जीव सिपी (ओइस्टर) मा रहेको भिजेको र चलायमान सतहमा पनि बलियोसँग टाँसिने अचम्मको क्षमताबाट प्रेरित छ ।
परम्परागत धातुका इम्प्लान्टहरू (स्टिलका प्लेट र स्क्रु) भन्दा फरक, बोन–०२ बायोएब्जर्बेबल अर्थात् शरीरमा आफैं घुलनशील हुन्छ । यो गम हाड प्राकृतिक रूपमा निको हुँदै जाँदा बिस्तारै–बिस्तारै पग्लिँदै जाने प्राप्त समाचारमा उल्लेख छ । यसले गर्दा इम्प्लान्ट निकाल्नका लागि दोस्रो शल्यक्रिया गर्नुपर्दैन । १५० भन्दा बढी बिरामीहरूमा सफलतापूर्वक परीक्षण गरिएको यो गमले रगत बगेको ठाउँमा पनि अचम्मको शक्ति, सुरक्षा र चाँडो टाँसिने क्षमता देखाएको छ । बोन–०२ ले शल्यक्रियाको समय निकै घटाउन, संक्रमणको जोखिम कम गर्न र स्वास्थ्यलाभ गति बढाउन सक्छ, जुन विश्वभरि नै हाड भाँच्चिएको उपचारको क्षेत्रमा एउटा ठूलो उपलब्धि हो ।
सिपी (ओइस्टर)बाट प्रेरित हाड जोड्ने गम
बोन–०२ को विकास बायोमिमिक्री (जीव–नकल) को सिद्धान्तमा आधारित छ, जहाँ सिपी कसरी लहर र पानीको प्रवाहसँग जुध्न पानीमुनिको सतहमा बलियोसँग टाँसिन्छ भन्ने कुराबाट प्रेरणा लिइएको छ । यो गमले सिपीको सोही प्राकृतिक टाँसिने गुणको नक्कल गर्छ, जसले सर्जनहरूलाई रगत बगेको ठाउँमा पनि हाड जोड्ने शक्तिशाली उपकरण दिन्छ, जहाँ परम्परागत गमले काम गर्न सक्दैन ।
बोन–०२ ले लगाएको दुईदेखि तीन मिनेटभित्रमा भाँचिएको हाडलाई असाधारण बन्धन बल (४०० पाउन्डभन्दा बढी) को साथ जोड्न सक्ने प्राप्त समाचारमा उल्लेख छ । यसको द्रुत कार्य र स्थायित्वले सर्जनहरूलाई बढी प्रभावकारिता र बिरामीहरूलाई सहज निको हुने प्रक्रिया प्रदान गर्दछ । भविष्यमा यसको उपयोग दन्त शल्यक्रिया, जोर्नीको मर्मत र युद्ध मैदानमा हुने घाउ–चोटको उपचारमा पनि गर्न सकिनेछ, जहाँ गति र बल निकै महत्त्वपूर्ण हुन्छन् ।
परीक्षणले नतिजामा विश्वास जगायो
बोन–०२ को क्लिनिकल परीक्षणमा १५० भन्दा बढी बिरामी सहभागी भइसकेका छन् । परीक्षणले उत्साहजनक नतिजा दिएको छ । डाक्टरहरूले सामान्यतया स्टिलका प्लेट र स्क्रु आवश्यक पर्ने शल्यक्रियाहरू निकै कम समयमा पूरा भएको बताए । गतिको अलावा यो गमले बलियो शारीरिक गुणहरू पनि प्रदर्शन गरेको छ । जसमा ०.५ एमपीएको सियर स्ट्रेन्थ र १० एमपीएको कम्प्रेसिभ स्ट्रेन्थ पाइएको छ, जुन परम्परागत इम्प्लान्टसँग तुलना गर्न योग्य छ । महत्त्वपूर्ण कुरा त बोन–०२ मानव शरीरले राम्रोसँग स्वीकार गरेको देखियो, कुनै ठूलो सुरक्षा चिन्ता देखिएन ।
लगाएको दुईदेखि तीन मिनेटभित्रमा, बोन–०२ ले भाँच्चिएको हाडलाई असाधारण बन्धन बल (४०० पाउन्डभन्दा बढी) को साथ जोड्न सक्ने
यी निष्कर्षहरूले यो गमले अन्ततः विश्वभरका अस्पतालहरूमा धेरै परम्परागत हड्डी जोड्ने विधिहरूलाई प्रतिस्थापन गर्न सक्ने देखिएको छ । यसको प्रभाव आपत्कालीन चिकित्सामा पनि पुग्न सक्छ, जहाँ छिटो भाँच्चिएको हाडलाई स्थिर बनाउनु महत्वपूर्ण हुन्छ । यो गम शल्यचिकित्सका स्रोतहरू दुर्लभ हुने युद्ध मैदान वा विपत्तिको अवस्थामा पनि मूल्यवान साबित हुन सक्ने बनाइएको छ ।
हाड भाँचिएको उपचारमा प्रेरित परिवर्तन
बोन–०२ को बायोएब्जर्बेबल डिजाइनको अर्थ यो लगभग ६ महिनाभित्र प्राकृतिक रूपमा पग्लिँदै जान्छ, हाड बलियो हुँदै जाँदा यो गायब हुन्छ । यसले धातुको इम्प्लान्ट हटाउन दोस्रो शल्यक्रिया गर्नुपर्ने आवश्यकतालाई समाप्त गर्छ, जसले गर्दा बिरामीहरूको लागि लागत र निको नहुने जोखिम दुवै कम हुन्छ ।
हाडजोर्नीका विज्ञहरूले यसलाई हाड भाँच्चिएको उपचारमा सम्भावित गेम चेन्जर (ठूलो परिवर्तन ल्याउने) को रूपमा हेरेका छन्, विशेषगरी जटिल चोटपटक वा उन्नत शल्यचिकित्सा सुविधाको सीमित पहुँच भएका क्षेत्रहरूमा । यदि भविष्यका परीक्षणहरूले पनि यसको प्रभावकारितालाई पुष्टि गरेमा बोन–०२ ले हाड भाँच्चिएको उपचार गर्ने तरिकामा ठूलो परिवर्तन ल्याउन सक्छ— पहिलेभन्दा छिटो, सुरक्षित र बढी मानव–केन्द्रित । यस्ता आविष्कारहरूले कसरी प्रकृतिले आधुनिक चिकित्सालाई निरन्तर प्रेरणा दिइरहेको छ भन्ने कुरालाई उजागर गर्छ ।
यस्ता सफलताहरूले हामीलाई शरीरको उपचार वैज्ञानिक र रचनात्मक दुवै हुन सक्छ भन्ने कुरा सम्झाउँछ । यो एउटा यस्तो सफलता हो जुन लगभग विज्ञान कथाजस्तो लाग्छ— तैपनि यसले वास्तविक बिरामीहरूको अमूल्य निको हुने समयलाई बचाइरहेको छ । डाक्टरहरूले त यो गमले उनीहरूलाई सर्जनभन्दा बढी ‘सिकर्मी’ जस्तो महसुस गराउन सक्छ भनी ठट्टा समेत गरेका छन् ।









