काठमाडौं– निरन्तर उकालो लागिरहेको सुनको मूल्य प्रतितोला २ लाख २१ हजार रुपैयाँ नाघेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोेला ३ हजार ९०० रुपैयाँले भाउ बढेपछि सुनको मूल्यले कीर्तिमान बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका सुनको मूल्य प्रतितोला २ लाख २१ हजार ७०० रुपैयाँ तोकेको छ । अघिल्लो दिन यसको मूल्य प्रतितोला २ लाख १७ हजार ८०० रुपैयाँ थियो ।
आज कायम भएको सुनको मूल्य हालसम्मकै उच्च हो । सोमबार पनि सुनको मूल्यले पुरानो रेकर्ड तोडेको थियो ।
मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार ६६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ६८० रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजार मूल्यको आधारमा नेपाली बजारको लागि मूल्य तोक्ने गरेको छ ।









