चितवन– दशैं बिदामा चितवनका अस्पतालले सेवालाई नियमित गर्ने भएका छन् । प्रायः अस्पतालले बहिरंगबाहेकका सम्पूर्ण सेवा नियमित सञ्चालन गर्ने भएका हुन् । केही अस्पतालले भने दसैंको टीकाको दिनबाहेक अन्य दिनमा बहिरंग सेवा समेत नियमित सञ्चालन गर्दैछन् ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले बहिरंग सेवाबाहेकका अन्य सबै सेवा नियमित सञ्चालन हुने जानकारी दिए । बहिरंगको अत्यावश्यक खोप, ड्रेसिङलगायतका सेवा भने टीकाको दिनबाहेक अन्य दिन सञ्चालन हुने उनको भनाइ छ । सोका लागि हरेक दिन बिहान ९ देखि १० बजेसम्म सेवा सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।

यसबाहेकका अन्य सबै सेवा पूर्ववत् अवस्थामा सञ्चालनमा आउने छन् । पौडेलका अनुसार प्रसूतिलगायतका विभागमा विशेषज्ञ चिकित्सकले पालो मिलाएर सेवा दिने छन् ।

चितवन मेडिकल कलेजले टीकाको दिनबाहेक अन्य दिनमा बहिरंग सेवासमेत दिने भएको छ । कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार टीकाको दिनमा बहिरंग सेवा हुँदैन भने अन्य सबै सेवा सो दिनमा पनि सञ्चालन हुनेछन् ।

फूलपातीको दिनबाट टीकाको भोलिपल्टसम्म बहिरंग सेवा बिहान ८ देखि मध्याह्न १२ बजेसम्म सञ्चालन गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए । सबै विभागमा विशेषज्ञ चिकित्सकले पालो मिलाएर सेवा दिने उनको भनाइ छ । दसैंको समयमा दुर्घटनाका बिरामी बढी आउने भएकाले मेडिकल कलेजले आकस्मिक र ट्रमा सेन्टरमा विशेष व्यवस्था गरेको छ ।

कलेज अफ मेडिकल साइसेन्स शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) का उपनिर्देशक डा राजेश यादवका अनुसार बहिरंग बाहेकका सबै सेवा दसैं बिदाभर पनि सञ्चालन हुनेछन् । फूलपातीको दिनदेखि टीकाको भोलिपल्टसम्म बहिरंग सेवा बन्द भए पनि आकस्मिक सेवाबाट बिरामीलाई उपचार व्यवस्था गरिएको छ । उनले भने, ‘बहिरंगबाहेक अन्य सबै सेवा पूर्ववत् अवस्थामा सञ्चालन हुन्छन् ।’

यस्तै निजी केही अस्पतालले दसैंको बेलामा उपचारको विशेष व्यवस्था गरेका छन् । मौलाकालिका अस्पतालले टीकाको दिन टीका लगाउने समयबाहेक अन्य समयमा पूर्ववत् अवस्थामा सबै सेवा दिने जनाएको छ । अस्पतालका प्रबन्ध निर्देशक डा केशव भुर्तेलका अनुसार चिकित्सकले पालो मिलाएर उपचार सेवा दिने व्यवस्था मिलाइएको छ । उनका अनुसार अधिकांश विभागमा तीन जना विशेषज्ञ चिकित्सक र धेरै स्थानीय भएकाले सेवा रोक्न नपरेको हो ।

भरतपुर आँखा आकस्मिक सेवा सञ्चालन गर्ने जनाएको छ । अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार आँखामा चोटपटक, धुलोलगायतबाट हुने चोटको आकस्मिक उपचार गर्नु परेमा अस्पतालले सेवा दिनेछ ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आकस्मिक र अन्तरंग सेवा सञ्चालनमा रहने छन् । सूचना अधिकारी जिएन महतोका अनुसार अन्य विभागले दसैं बिदाअघि र पछि सेवा दिने गरी तालिका बनाएर उपचार व्यवस्था गरेका छन् ।

जिल्लामा बिदाको समयमा समेत उपचार हुने भएपछि छिमेकी जिल्लाबाट समेत उपचारका लागि आउने गर्दछन् । राजधानी बाहिर सबै खालका उपचारका लागि देशैभरबाट यहाँ बिरामी आउने गर्दछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय