काठमाडौं– जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौंको हायात प्लेसमा ‘एमडीआरटी’ अचिभर्स अवार्ड, २०२३ भव्यतापूर्वक सम्पन्न गरेको जनाएको छ । कम्पनीले वर्ष सकिएको सात दिनभित्रै सन् २०२२ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्म ३७ लाख ९२ हजार ३०० रुपैयाा प्रथम बीमा शुल्क सकलन गरी ‘एमडीआरटी’का लागि योग्य भएका २४३ जना अभिकर्तालाई सम्मानित गरिएको छ ।

कार्यक्रमको शुभारम्भ कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालले गरेका थिए । उक्त कार्यक्रममा देश बाहिर रहेका कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले भर्चुअल माध्यमबाट स्वागत गरेका थिए । आफ्नो भिडियो सन्देशमा प्रमुख कार्यकारी अधिकृत पराजुलीले कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ता रहेको र उनीहरुकै अथक मेहनतका कारण कम्पनी सफल भएको र आगामी दिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुनेमा आफू विश्वस्त रहेको बताए ।

अभिकर्ताहरुको चौतर्फी विकासका निम्ति कम्पनी निकै नै संवेदनशील रहेका समेत प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नायब महाप्रबन्धक उमापति पोखे्रलले कम्पनीको आगामी रणनीतिबारे प्रकाश पारेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

नेपालका ८ हजार मिटरभन्दा अग्ला सबै शिखर आरोहण गर्ने पहिलो महिला बनेर कीर्तिमान कायम गर्नु भएकी पूर्णिमा श्रेष्ठ कार्यक्रममा विशेष अतिथिको रूपमा उपस्थित भई आफ्नो जीवनको सफलता असफलता, चुनौती र अवसरबारे बताएकी थिइन् । कार्यक्रममा बोल्दै श्रेष्ठले मान्छेले प्रगति गर्नका निम्ति आफूसँगै प्रतिस्पर्धा गर्नुपर्ने र आफ्नो सीप विकासमा सदैव दत्तचित्त भएर लाग्नुपर्ने बताइन् ।

कार्यक्रमको समापन गर्दै कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत कयालले कार्यक्रममा सम्मानित हुने अभिकर्तालाई बधाइ तथा शुभकामना दिएका थिए । उनले आगामी दिनमा समेत कम्पनी व्यवस्थापन अभिकर्ताको सहजकर्ताको रूपमा प्रस्तुत हुने भन्दै आगामी वर्ष अझ बढी संख्यामा अभिकर्तालाई सम्मानित गर्न कम्पनी लालायित रहेको बताए ।

२०७९ असोज मसान्तसम्ममा यस कम्पनीको लगानी १४९.७६ अर्ब रुपैयाँ, जीवन बीमाकोष १४२ अर्ब ९ करोड रुपैयाँ र शेयरधनी कोष ११ अर्ब ३ करोडभन्दा बढी रहेको विज्ञप्तिमा उल्लेख छ । कम्पनीमा २ लाख १२ हजार ३६२ भन्दा बढी प्रशिक्षित अभिकर्ता छन् । कम्पनीले आफ्ना सेवाग्राही र ग्राहकका लागि देशभर फैलिएका करीब १ सय ९७ कार्यालय सञ्जालमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

कम्पनीले हालसम्म १९७.१८ अर्ब रुपैया बीमा शुल्क आर्जन गरेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजनाअन्तर्गत ३१ लाख १५ हजार ४२० बीमालेख जारी गरेको छ । कम्पनीले ग्राहकको हितलाई ध्यानमा राखी समयसापेक्ष आवश्यक थप सेवा, सुविधासमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय