काठमाडौं– दक्षिण एसियामा खाद्य सुरक्षाको सुनिश्चितताका लागि कृषि उत्पादन वृद्धिसँगै बजारसम्मको पहुँच सुनिश्चितता गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

काठमाडौंमा आयोजित प्रथम दक्षिण एसियाली कृषि सम्मेलनका क्रममा नीति निर्माता र व्यवसायीहरुले पछिल्लो समय अन्तर्राष्ट्रिय व्यापारमा गैरभन्सार अवरोध बढ्न थालेकाले यसमा सुधार आवश्यक रहेको बताएका छन् ।

भारत सबकन्टिनेन्ट एग्री फाउन्डेसन, टेफ्ला र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त रुपमा आयोजना गरेको उक्त सम्मेलनमा महासंघ अध्यक्ष शेखर गोल्छाले सम्मेलनले नेपाली उत्पादनको बजारीकरणमा सहयोग पुग्ने बताए । दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) मा यस क्षेत्रका मुलुकहरु बीच व्यापार विस्तारको अवसर भएपनि कृषिजन्य उत्पादनको निर्यातमा गैर भन्सार अवरोध लगायतका समस्या रहने गरेको छ ।

अध्यक्ष गोल्छाले नेपालको तुलनात्मक लाभ भएका वस्तुको निर्वाध निर्यातका लागि देशभित्र सहुलियत बढाउनुपर्ने र अन्तर्राष्ट्रिय बजारमा सहज पहुँच सुनिश्चित गरिनुपर्ने बताए ।

श्रीलंकाका व्यापार एवं खाद्य सुरक्षामन्त्री नलीन फर्नान्डोले यस क्षेत्रका ४० प्रतिशत सीमान्तकृत किसान रहेकाले उनीहरुको उत्पादन वृद्धि र बजार सुनिश्चितताका लागि पहल गर्नुपर्ने बताए ।

कृषि क्षेत्रको निर्यात लागत निक्कै महँगो भएको र यहाँका धेरै देशहरु खुद कृषिजन्य वस्तु आयात रहेको बताउँदै खाद्य सुरक्षा सुनिश्चिततामा विशेष प्रयास आवश्यक रहेको बताए । दक्षिण एसियाले संयुक्तरुपमा प्रयास गर्दा यहाँको खाद्य सुरक्षा सुनिश्चितता र किसानको आय वृद्धिमा सहयोग पुग्ने विश्वास पनि मन्त्री फर्नान्डोले व्यक्त गरे ।

दुबई मल्टी कमोडिटिस सेन्टरका कार्यकारी अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत अहमत विन सुलेयमले दक्षिण एसियाले दुबईको बजारबाट फाइदा लिन सक्ने बताए । कृषि बजार विस्तारका लागि ब्लकचेन लगायतका प्रविधिमा आधारित व्यापारको उपयोग गर्न सकिने पनि बताए ।

सम्मेलनमा विशेष अतिथि उद्योग सचिव डा. तोयानारायण ज्ञवालीले सम्मेलनका क्रममा हुने छलफलले निर्यात एवं लगानी प्रवर्द्धनमा सहयोग पुग्ने बताए । उनले सम्मेलनमा लगानीलाई बढि प्राथमिकता दिनुपर्ने बताए । लगानी बढदा निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापनमा सहयोग पुग्ने बताए ।

उनले साफ्टाअन्तर्गत सबै मुलुकले फाइदा लिन संवेदनशील सूचीमा रहेका वस्तुहरु घटाउनुका साथै गैरभन्सार अवरोध हटाउनुपर्नेमा जोड दिउ । उनले दक्षिण एसियाले प्रविधिको उपयोग बढाउनुका साथै व्यापार अवरोध हटाउन सके कृषि क्षेत्रमा दक्षिण एसिया विश्वकै महाशक्ति हुनसक्ने बताए । सम्मेलनमा १२ देशका करिब ४ सय सहभागी छन् । सम्मेलन शुक्रबारसम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय