इस्लामावाद– पाकिस्तानका पूर्वराष्ट्रपति तथा सेनाप्रमुख परवेज मुसर्रफको आइतबार दुबईको एक अस्पतालमा निधन भएको छ । ७९ वर्षीय मुसर्रफ लामो समयदेखि एमिलायडोसिस नामको दुर्लभ रोगसँग लडिरहेका थिए ।

मुसर्रफ निधनलगत्तै सेनाको सञ्चार विभाग इन्टर–सर्भिस पब्लिक रिलेसन्सले प्रकाशित गरेको विज्ञप्तिमा उनको निधनप्रति शोक व्यक्त गरिएको छ । ‘अल्लाहले दिवंगत आत्मालाई आशीर्वाद र शोकाकूल परिवारजनमा शक्ति दिऊन्,’ विज्ञप्तिमा भनिएको छ ।

पूर्व सैन्य शासक मुसर्रफ गत जुनमा तीन साता अस्पताल भर्ना भएका थिए । त्यसबेलै पनि केही पाकिस्तानी र भारतीय सञ्चार माध्यमले मुसर्रफको निधन भइसकेको अफवाह फैलाएका थिए ।

उनलाई एमिलायडोसिस नामको दुर्लभ रोग लागेको तथ्य सन् २०१८ मा बाहिरिएको थियो । अल पाकिस्तान मुस्लिम लिगले उक्त खबर बाहिर ल्याएको थियो ।

शरीरको अंग र टिस्युमा एमिलोयड नामको असाधारण प्रोटिन वृद्धि भएर व्यक्तिलाई गम्भीर अवस्थामा पु¥याउने अवस्थाहरुको समूहलाई एमिलायडोसिस भनिन्छ । एमिलोयड प्रोटिन वृद्धिले अंग र टिस्युहरुलाई उचित किसिमले काम गर्न अप्ठेरो बनाइदिन्छ ।

सन् २०१४ मा मुसर्रफमाथि सन् २००७ मा मुलुकको संविधान निलम्बन गरको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा दायर भएको थियो । सन् २०१९ को डिसेम्बर १७ मा उक्त अदालतले मुसर्रफलाई राष्ट्रद्रोहको कसुरमा मृत्युदण्डको फैसला सुनाएको थियो । सन् २०१६ मा स्वास्थ्योपचारको लागि भनेर दुबई गएका मुसर्रफ त्यसयता पाकिस्तान फर्केका छैनन् ।

सन् १९९९ देखि २००८ सम्म पाकिस्तानी सेनाप्रमुख रहेका मुसर्रफ सन् २००१ मा पाकिस्तानको १०औं राष्ट्रपति बने । सन् २००८ को सुरुताकासम्म उनी राष्ट्रपति थिए । मुसर्रफ भारतको नयाँ दिल्लीमा जन्मेका थिए । पाकिस्तान भारतबाट अलग भएपछि उनको परिवार कराची गएको हो ।

सन् १९६५ को भारत–पाकिस्तान युद्धमा बटालियन कमान्डरका रुपमा सहभागी मसर्रफ सन् १९९८ मा पाकिस्तानी सेनाको प्रमुख बने । सेनाप्रमुख बनेको एक वर्षपछि उनले तात्कालीन नवाज सरिफको सरकारलाई रक्तपातबिहीन कूबाट हटाएर आफैं राष्ट्रपति बने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय