काठमाडौं– जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा उल्लेखनीय प्रगति गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा २३७.२९ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ४ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ४४ करोड १ लाख ६० हजार रुपैयाँ आर्जन गरेको छ । यस अवधिसम्ममा १८ अर्ब ६२ करोड ७४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने ८ अर्ब ४४ करोड २५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १६ प्रतिशतले बढेको छ । पुस मसान्तसम्म कम्पनीको लगानी २०.४६ प्रतिशत बढेर १ खर्ब ५६ करोड ४५ लाख ३२ हजार रुपैयाँ पुगेको छ ।

यस अवधिमा कम्पनीको चुक्ता पुँजी १४ प्रतिशत बढेर ८ अर्ब २० करोड ७९ लाख ६६ हजार रुपैयाँ, जीवन बीमा कोष २१ प्रतिशत बढेर १ खर्ब ५० अर्ब ८५ करोड ६४ लाख ८२ हजार रुपैयाँ र महाविपत्ति कोष १६ प्रतिशत बढेर ८३ करोड ३६ लाख ४९ हजार रुपैयाँ पुगेको छ । त्यसैगरी समीक्षा अवधिमा २१औं र २२औं वार्षिक साधारणसभा सम्पन्न गरी लाभांश वितरण गरी सकिएकोले जगेडा कोष ४८ करोड ४ लाख ४९ हजार रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १०.७३ रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ११६.०१ रुपैयाँ र मूल्य अनुपात आम्दानी ६८.४४ गुणा रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

समग्रमा देशमा उत्पन्न भएको आर्थिक संकटले बीमा क्षेत्रमा परेको प्रभावबीच कम्पनीले उत्कृष्ट नतिजा ल्याएको विज्ञप्तिमा उल्लेख छ । आगामी दिनमा कम्पनीलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्न विभिन्न संरचनात्मक, प्रक्रियागत सुधारहरु अबलम्बन गर्दै नेपालीहरुकको घर दैलोमा गुणस्तरीय बीमा सेवा प्रबाह गर्न कम्पनी तत्पर रहेको र त्यसलाई मूर्तरुप प्रदान गर्न कम्पनी अहोरात्र लागिरहेको कुरा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय