काठमाडौं– सुनचाँदी व्यवसायको प्रवर्द्धन गर्ने मुख्य उद्देश्यले स्थापित जेम्स एन्ड ज्वेलरी काउन्सिल पुनर्गठन भएको छ । झण्डै चार वर्ष निष्क्रिय रहेको काउन्सिललाई हालै सक्रिय गराइएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघद्वारा संयुक्त रुपमा काउन्सिलको गठन गरिएको हो । काउन्सिलमा यी तीनैवटा संस्था सदस्य छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यका अनुसार काउन्सिलले यी तीनैवटा संस्थाको छाता संस्थाका रुपमा कार्य गर्नेछ ।

यसको नेतृत्व चक्रिय प्रणाली अनुरुप हुने सहमति तीन महासंघबीच भएको छ । तत्कालका लागि रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जन यसको संयोजक तोकिएका छन् ।

एक वर्षपछि नेतृत्व नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सम्हाल्ने छन् । त्यसपछि हस्तकला महासंघको पालो आउँछ । अहिले हस्तकला महासंघको अध्यक्षमा सुरेन्द्रभाइ शाक्य छन् ।

संस्थाको सक्रियतासँगै सुन तथा चाँदीको गरगहना र तीनको कारोबार, आपूर्ति एवं निर्यात प्रवर्द्धनका क्षेत्रमा काम हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय