काठमाडौं– मेन्छियाम हाइड्रोपावर लिमिटेडले साधारण सेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही फागुन १० गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार ३०० को १० प्रतिशत अर्थात् ५ करोड ४२ लाख ५८ हजार ३०० बराबरको प्रतिसेयर १०० दरका ५ लाख ४२ हजार ५८३ कित्ता सेयर आयोजनाप्रभावित क्षेत्र संखुवासभावासीका लागि निष्कासन गर्न लागेको हो । त्यसमा पनि अतिप्रभावित संखुवासभाको साबिक सिद्धिकाली, सिद्धपोखरी र मावादिन गाविसका बासिन्दामा २ लाख ७१ हजार २९२ कित्ता र त्यसबाहेक संखुवासभाका बासिन्दामा २ लाख ७१ हजार २९१ कित्ता छुट्ट्याइएको छ ।

त्यस्तै सर्वसाधारण लगानीकर्ताका लागि छुट्ट्याइएको सेयरको १० प्रतिशतले हुने १ लाख ८ हजार ५१७ कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रमस्वीकृति प्राप्त गरी विदेशमा रोजगारमा रहेका नेपालीका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ ।

स्थानीय लगानीकर्ताले सेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । जसमा आयोजनाप्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन बन्द छिटोमा यही फागुन २५ गते हुनेछ भने ढिलोमा आगामी चैत ९ गते हुने कम्पनीले जनाएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतम १० हजार कित्ताका लागि यही फागुन २५ गतेभित्र आवेदन दिनुपर्नेछ । स्थानीय बासिन्दाले आयोजना स्थलमा रहेको कम्पनीको कार्यालय, मादी नगरपालिका–७, चैनपुर नगरपालिका–३ मा रहेको रेडक्रस भवन, एनआइसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल एसबिआई बैंकले तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु र अनलाइनबाट ‘मेरो शेयर’मार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई केयर नेपालले ‘केयर एनपी बिबी इस्युअर’ प्रमाणपत्र प्रदान गरेको छ । कम्पनीले संखुवासभामा ४.७२ मेगावाट क्षमताको माथिल्लो पिलुवा खोला–२ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय