काठमाडौं– बनाउँदै नबनाएको सडक बनाएको भनेर कागजात मिलाएर रकम भुक्तानी गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन इन्जिनियर सरोजकुमार दाहाल र तत्कालीन सबइन्जिनियर नविनकुमार बिसीमाथि मुद्दा दायर गरेको छ ।

उनीहरुले आपसी मिलेमतोमा निगालपानी रेग बगौरा सडक निर्माण योजना सम्झौतामा निर्धारित सर्त र मापदण्डविपरीत झुटा नापी किताब, उपभोक्ता समितिसम्बन्धी बिल, कार्यसम्पन्न प्रतिवेदनसमेत तयार गरी मापदण्ड अनुसार सडक निर्माण भएको भनी बदनियतपूर्वक वास्तविक भए गरेको कार्य लुकाइछिपाइ नभए नगरेको कुरा देखाई भ्रष्टाचार गरेको अख्तियारको भनाइ छ । उनीहरुले अख्तियार दुरुपयोग निवारण ऐन, २०५५ को दफा १९ को उपदफा (२) बमोजिम कसुर गरेको अख्तियारको दाबी छ ।

अख्तियारका अनुसार मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७६–७७ मा दैलेखको गुराँस गाउँपालिका वडा नं. ६ स्थित निगालपानी रेग बगौरा सडक निर्माण योजनाको रकम उनीहरुले हिनामिना गरेका हुन् ।

अख्तियारले उनीहरुमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ उपदफा (२) बमोजिमको सजाय मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । उक्त दफामा कुनै राष्ट्रसेवकले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको प्रमाणित भएमा त्यसरी आर्जन गरेको सम्पत्तिको बिगोअनुसार दुई वर्षसम्म कैद र बिगो बमोजिम जरिवाना गरी त्यसरी आर्जन गरेको गैरकानुनी सम्पत्ति जफतसमेत गरिने उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय