बेइजिङ– चीनले कोभिड–१९ महामारी फैलिएपछि सन् २०२० को यसैताका विदेशीमाथि लगाएको यात्रा प्रतिबन्ध हटाएको छ । भोलि बुधबारदेखि विदेशीहरूलाई भिसा जारी गरिने चिनियाँ विदेश मन्त्रालयले बताएको छ ।

महामारी नियन्त्रण गर्न सरकारले केही महिनाअघिसम्म कठोर ‘शून्य कोभिड रणनीति’ अवलम्बन गरेको थियो । सरकारको पछिल्लो निर्णयले बाहिरी संसारका निम्ति चीन पुनः खुलेको छ ।

चिनियाँ विदेश मन्त्रालयको कन्सुलर अफेयर्स ब्युरोसँग सम्बद्ध सामाजिक सञ्जालमार्फत जारी गरिएको सूचनाअनुसार नयाँ भिसा आवेदनको समीक्षा र स्वीकृतिका साथै मार्च २८, २०२० अघि जारी गरिएका तर म्याद नगुज्रिएका भिसाबाहकले पुनः चीनमा प्रवेश गर्न पाउने छन् ।

यस्तै सूचना संयुक्त राज्य अमेरिका र फ्रान्समा रहेका चिनियाँ दूतावाससहित विश्वका धेरै देशमा रहेका चिनियाँ कूटनीतिक नियोग जारी गरेका छन् । सरकारले जारी गरेको भिसासम्बन्धी अद्यावधिक नीतिले पानी जहाजबाट सांघाई आउनेहरूका साथै हङकङ, मकाउ र आसियान क्षेत्रीय समूहभित्रका देशका निश्चित पर्यटक समूहका लागि बिनाभिसा यात्राको अनुमति दिएको छ ।

राष्ट्रसंघीय विश्व पर्यटन संगठनका अनुसार महामारी प्रारम्भ हुनुअघि सन् २०१९ मा ६ करोड ५७ लाख अन्तरराष्ट्रिय पर्यटकले चीन भ्रमण गरेका थिए । विश्वका अधिकांश मुलुकले आफ्नो अर्थतन्त्रलाई गतिशील तुल्याउने उद्देश्यले महामारीका कारण बन्द गरिएको यात्रा अनुमति पुनः खुला गरेपछि चीनले पनि गत वर्षको उत्तरार्द्धमा यात्रा अनुमति दिएको हो ।

बन्दाबन्दीको अवस्थामा महिनौं घरभित्रै छटपटिका चिनियाँले शून्य कोभिड रणनीतिको विरोधमा देशका विभिन्न भागमा प्रदर्शन गरेका थिए । महामारी नियन्त्रणका नाममा आफ्नो राजनीतिक एवं वैयक्तिक स्वतन्त्रता हनन भएको प्रदर्शनकारीको तर्क थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय