काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंकले प्रदेश १ को पूर्वाधार निर्माणका लागि वित्तीय स्रोत उपलब्ध गराउने भएको छ ।

सार्वजनिक–निजी साझेदारीको माध्यमबाट प्रदेश १ को पूर्वाधार क्षेत्रको विकासका लागि परियोजना विकास तथा कार्यान्वयनको चरणमा आवश्यक वित्तीय तथा प्राविधिक सहकार्य तथा सहयोग र अन्य आवश्यक सेवाको सम्बोधन गर्न प्रदेश नं। १ को सार्वजनिक–निजी साझेदारी तथा लगानी प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडबीच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

यो समझदारीपत्रको मूल उद्देश्य प्राविधिक र आर्थिक रुपमा सम्भावित प्रादेशिक पूर्वाधारका परियोजनाहरु पहिचान गर्नु र सम्भावित परियोजनाहरुमा वित्तीय तथा प्राविधिक विश्लेषण, परियोजनाको बजारीकरण र विकासकर्ता छनोटका लागि आवश्यक सहयोग, बैंकको तर्फबाट वा बैंकको अगुवाइमा स्वपुँजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गरी सार्वजनिक–निजी साझेदारीको माध्यमबाट प्रदेश नं १ मा पूर्वाधारका परियोजनाको विकास तथा कार्यान्वयन गर्नु रहेको जनाइएको छ ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा उक्त समझदारी पत्रमा प्रदेश नं १ को सार्वजनिक–निजी–सहकारी साझेदारी तथा लगानी प्राधिकरणको तर्फबाट निर्देशक डा सरोज कोइराला र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

सोही कार्यक्रममा निर्देशक डा कोइरालाले प्रदेश नं १ मा कोसी रिफ्रेसमेन्ट सेन्टर, बिमा बाम्बो प्रोजेक्ट, इलेक्ट्रिक बस प्रोजेक्ट, उदयपुर सिमेन्ट रिभाइटजाइजेसन प्रोजेक्ट लगायतका केही पूर्वाधारका परियोजनाहरुको प्रारम्भिक अध्ययन विश्लेषण सम्पन्न भइसकेको जानकारी गराए।

मुलुकको आर्थिक समृद्धिका लागि पूर्वधार परियोजनालाई आवश्यक सहयोग पुर्याउने उद्देश्य लिई, सार्वजनिक–निजी साझेदारीको अवधारणामा स्थापित नेपाल इन्फ्रास्ट्रक्चर बैंकले प्रदेश नं १ सँग समझदारीपत्रमा हस्ताक्षर गरेसँगै आगामी दिनमा मुलुकका अन्य प्रदेश सरकार एवं स्थानीय निकायसँग समेत यसैगरी सहकार्य गर्दै अघि बढ्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय