काठमाडौं– १३ जनाको मिलेमतोमा नक्कली बिल प्रयोग गरी झण्डै एक अर्ब बराबरको राजस्व छलेको पाइएको छ । राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धानमा ती व्यक्तिले विभिन्न ११ वटा फर्मको बैंक खाता सञ्चालन गरी राजस्व छलेका हुन् ।

उनीहरूले वस्तु तथा सेवा खरिद नै नगरी नक्कली मूल्य अभिवृद्धिकर (भ्याट)को बिजक मात्र किनेर मूल्य अभिवृद्धि कर र आयकर छली गरेका विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

उक्त आर्थिक अपराधमा सर्लाहीको बलरा नगरपालिका–७ बस्ने मुख्य अभियुक्त सुबोध साहसहित १० र उनीहरूको मतियारको रुपमा अन्य तीन गरी १३ को संलग्नता रहेको विभागले जनाएको छ । उनीहरूले ९१ करोड ३० लाख ५६ हजार बराबर राजस्व छलेको विभागले जनाएको छ ।

उक्त घटनामा अनुसन्धान सकी बिगो असुल गरी जरिवाना र कैद सजाय माग दाबीसहित मंगलबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको महानिर्देशक मैनालीले जानकारी दिए ।

मुख्य प्रतिवादी सुबोध साहसमेतले कर बिजकको कारोबार गर्ने सुरेन्द्र सहनी, सरोजकुमार मिश्र, कलिम अन्सारी, अवधेश पटेल, सुमनकुमार महतो, राजेश्वर महतो, इदा खातुन, हरिन्द्र राम र मोतिलाल सहनीसमेतको मिलेमतोमा ११ वटा फर्म खडा गरी वस्तु तथा सेवा खरिद नै नगरी नक्कली मूल्य अभिवृद्धि करको बिजकमात्र किनेर मूल्य अभिवृद्धि कर र आयकरसमेत चुहावट गरेको विभागको अनुसन्धानमा खुलेको छ ।

विभागले दायर गरेको मुद्दामा लेखापरीक्षणको कागजात तयार गरी नक्कली कर बिजकको कारोबार एवं लेखापरीक्षण प्रतिवेदन तथा लेखापरीक्षण गरी कर छलीमा सहयोग गर्ने लेखापरीक्षक कृष्णप्रसाद घिमिरे, दीपक निरौला र दीपककुमार कोइरालाविरुद्ध मुख्य अभियुक्तले पाउने सजायको आधा सजायको मागदाबी गरिएको जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय