काठमाडौं– नेपालको अदुवा, अलैंची र प्लाइउडको निर्यातमा वृद्धि भएको छ । पूर्वी नाका काँकडभिट्टा भएर भारत निकासी भएका आधारमा निर्यात बढेको देखिएको हो ।

मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्ष २०७९–८० को फागुन मसान्तसम्म (आठ महिना)मा नेपालबाट ४० करोड ६१ लाख १८ हजार मूल्य बराबरको १ करोड २५ लाख ४७ हजार ६ सय ९० केजी अदुवा र सुठो भारत निर्यात भएको छ ।

गत आर्थिक वर्ष २०७८–७९ को सोही अवधिमा काँकडभिट्टा भन्सार हुँदै नेपालबाट १७ करोड १७ लाख २१ हजार मूल्य बराबरको ५३ लाख ७४ हजार ५ सय केजी अदुवा र सुठो भारत निकासी भएको थियो । उक्त आर्थिक वर्षको १२ महिनामा भने ३२ करोड ५४ लाख ३५ हजार मूल्य बराबरको १ करोड १ लाख ७८ हजार १ सय ५० केजी अदुवा र सुठो भारत निकासी भएको थियो ।

यसैगरी चालु आर्थिक वर्ष २०७९–८० को फागुन मसान्तसम्ममा नेपालबाट ५ अर्ब ८४ करोड ४६ लाख ७२ हजार मूल्य बराबरको ७२ लाख २१ हजार ३ सय ७४ केजी अलैंची भारत निर्यात भएको छ । आर्थिक वर्ष २०७८–७९ को सोही आठ महिनामा ३ अर्ब २२ करोड २७ लाख २२ हजार मूल्य बराबरको ३५ लाख ८४ हजार २२ केजी अलैंची भारत निकासी भएको भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ । उक्त आवको १२ महिनामा भने ४ अर्ब ७६ करोड ४३ लाख ८६ हजार मूल्य बराबरको ५२ लाख ८० हजार ४ सय ४२ केजी अलैंची भारत निकासी भएको थियो ।

मेची भन्सार कार्यालयले जनाएअनुसार चालू आर्थिक वर्ष २०७९–८० को फागुन मसान्तसम्ममा नेपालबाट १ अर्ब १० करोड ९१ लाख मूल्य बराबरको ३ करोड ६८ लाख ६८ हजार ६ सय ६ क्युबिक फिट प्लाइउड भारत निर्यात भएको छ । गत आर्थिक वर्ष २०७८–७९ को सोही ८ महिनाको अवधिमा नेपालबाट २९ करोड ७ लाख ४ हजार मूल्य बराबरको ४ लाख ६४ हजार ४ सय ५८ क्युविक फिट प्लाइउड भारत निकासी भएको थियो । उक्त आर्थिक वर्षको १२ महिनामा भने १० करोड ८० लाख ५२ हजार मूल्य बराबरको २४ लाख ५० हजार ८ सय २२ क्युविक फिट प्लाइउड भारत निकासी भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय