काठमाडौं– नक्कली भुटानी शरणार्थी बनाएर अमेरिकी पठाउने बहानामा ठगेको आरोपमा पार्टी सचिव टोपबहादुर रायमाझी पक्राउ परेपछि नेकपा (एमाले)ले कानुन पालनामा सघाउने प्रतिक्रिया दिएको छ । पार्टीले उक्त प्रकरणमा आग्रह–पूर्वाग्रह नराखी अनुसन्धान गर्न पनि आग्र्रह गरेको छ ।

नेपालीलाई नक्कली कागजातका आधारमा भुटानी शरणार्थी बनाउने र तेस्रो मुलुक पठाउने प्रकरणमा पार्टीका सांसद टोपबहादुर रायमाझी पक्राउ परेको खबर बाहिरिएको बेला एमालेको धारणा सार्वजनिक भएको छ ।

प्रहरीले औपचारिक रुपमा केही नबताए पनि रायमाझीलाई बिहीबार बुटवलबाट पक्राउ गरेको खबर विभिन्न सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् । यही प्रकरणमा मुछिएका उनका छोरालाई प्रहरीले बुधबारै पक्राउ गरिसकेको छ ।

पार्टी महासचिव प्रदीप ज्ञवालीले पार्टीले यो प्रकरणलाई गम्भीर रूपले लिएको र कानुन पालनामा सघाउने बताएका छन् । पूर्वाग्रह नराखी अनुसन्धान गर्न पनि उनले सरकारलाई सुझाएका छन् । यस विषयमा पार्टीले छलफल गरेर थप धारणा सार्वजनिक गर्ने ज्ञवालीको भनाइ छ ।

यो प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वगृहसचिव टेकनारायण पाण्डे, रायमाझीका छोरा लगायत पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय