काठमाडौं– टिकापुर हत्याकाण्डमा आजीवन काराबास सजाय पाएका रेशमलाल चौधरी गणतन्त्र दिवसको दिन सोमबार बिहानै कैदमुक्त भएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएर रिहा भएका चौधरीले टीकापुर घटनाको निष्पक्ष र न्यायोचित छानबिनको माग गरेका छन्।
टीकापुर घटनामा जन्मकैदको सजाय पाएर उनी डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका थिए ।

‘राष्ट्रपतिबाट सजाय माफी पाएर रिहा हुन पाउँदा खुसी छु। टीकापुर घटनाको पुनस् छानबिन हुनुपर्छ,’ जेलबाट रिहा भएलगत्तै उनले भने, ‘यो घटनामा निर्दोष कोही पर्नु हुँदैन।’
उनले टिकापुर हत्याकाण्ड दुर्भाग्यपूर्ण घटना भए पनि विशुद्ध राजनीतिक भएको बताए ।

रेशमलाई लिन नागरिक उन्मुक्ति पार्टी अध्यक्ष तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता चौधरी पुगेकी थिइन्। रञ्जिता रेशमकी पत्नी हुन्।

त्यस्तै पार्टीका समर्थक, शुभेच्छुकहरू बाजा, फूलमालासहित बिहानैदेखि कारागार परिसरमा भेला भएका थिए।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरूहट, थारुवान संघर्ष समितिको आन्दोलनले हिंसात्मक रूप लिँदा आठजना प्रहरी र एक नाबालकको ज्यान गयो। घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा, हवल्दार श्यामबहादुर खड्का, प्रहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद, सहायक हवल्दार रामबिहारी चौधरी र प्रहरी जवान जनक नेगी मारिएका थिए।

त्यही घटनामा मुख्य दोषी ठहर गर्दै रेशम चौधरीसहित ११ जनालाई २०७५ फागुन २२ गते जिल्ला अदालत कैलालीले जन्मकैदको सजाय सुनाएको थियो।

उनीहरूलाई दिपायल उच्च अदालतले पनि जन्मकैदको सजाय सुनाएको थियो। गत जेठ २ गते सर्वोच्च अदालतले पनि चौधरीलाई सफाइ दिन अस्वीकार गर्दै जिल्ला अदालत र उच्च अदालतको फैसला सदर गरेको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय