काठमाडौं– नेपाली सेयर बजारको इतिहासमै सबैभन्दा ठूलो आइपिओ (प्रारम्भिक सार्वजनिक निष्कासन)को आवेदन खुलेको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर बिक्रीका लागि आवेदन खुला गरेको हो । यो बैंकले आठ अर्ब रुपैयाँ बराबरको आठ करोड कित्ता साधारण सेयर शुक्रबारदेखि बिक्रीका लागि खुला गरेको छ । यो हालसम्म बजारमा जारी भएका प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) मध्ये सबैभन्दा ठूलो हो । यो सेयरका लागि आगामी मंगलबार साँझ ५ बजेसम्म आवेदन दिन सकिनेछ ।

बैंकले आफ्नो चुक्ता पुँजी २० अर्ब पुर्याउन सर्वसाधारणलाई सेयर बेच्न लागेको हो । आठ करोड कित्तामध्ये ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामूहिक लगानी कोषका लागि र ०.२० प्रतिशतले हुने १ लाख ६० हजार कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधारणले पाउने बैंकले जनाएको छ ।

बैंकले आइपिओका लागि गत मंसिर ८ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो । बोर्डले निवेदनबारे अध्ययन गरी मंसिर २४ गते बैंकलाई आवश्यक जिज्ञासा पठाएको थियो । बोर्डले पठाएका जिज्ञासाको जवाफ प्राप्त भएपछि बोर्डले पुस १० गते बैंकको आइपिओ र विवरणपत्रलाई अन्तिम स्वीकृति दिएको थियो । बोर्डको स्वीकृतिसँगै सो विवरणपत्र राष्ट्र बैंक र कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरी बैंकले विवरणपत्र र आह्वानपत्र प्रकाशन गरेको थियो । बैंकले एनआइबिएल क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । सेयरको प्रत्याभूतिकर्ता भने नागरिक लगानी कोष छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय