काठमाडौं– धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुको समूह विभाजनमा हेरफेर गर्दै नयाँ समूह समेत थप गरेको छ ।

अब सोही अनुसार समूहगत परिसूचक गणना गरिने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिएका छन् । हालसम्म दोस्रो बजारमा सूचीकृत कम्पनीहरुलाई ११ समूहमा बाँडेर समूहगत परिसूचक कायम गरिएकोमा अब एक समूह थपेर १२ वटा बनाइएको छ । नेप्से व्यवस्थापनको फागुन ७ गते सम्पन्न बैठकले लगानी समूह थप गरेको नेप्सेको विज्ञप्तिमा उललेख छ ।

परिवर्तित व्यवस्था अनुसार आगामी आइतबार (फागुन १६) देखि नेप्सेले म्युचुअल फन्ड, सेन्सेटिभ, सेन्सेटिभ फ्लोट र समग्र बजार परिसूचक नेप्से गरी १६ वटा परिसूचक गणना र प्रकाशन गर्ने विज्ञप्तिमा उल्लेख छ ।

यसअघि अन्य समूहमा रहेका आठवटा कम्पनीमध्ये चारवटालाई लगानी समूहमा राखी नयाँ समूह बनाएको छ भने होटल्सको नाम परिवर्तन गरी होटल्स तथा पर्यटन समूह बनाएको छ । यो समूहमा चन्द्रागिरि हिल्स लिमिटेडलाई समावेश गरिएको छ ।

लगानी समूहमा नागरिक लगानी कोष, हाइड्रो इलक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभपलमेन्ट कम्पनी लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडलाई राखिएको छ ।

त्यसैगरी, होटल्स तथा पर्यटन समूहमा ओरियन्टल होटल लिमिटेड, सोल्टी होटल लिमिटेड, याक एन्ड यती होटल लिमिटेड, तारागाउँ रिजेन्सी होटल लिमिटेड र चन्द्रागिरि हिल्स लिमिटेडलाई राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय