इलाम– सूर्योदय नगरपालिका–११ का गोपाल भट्टराईले दैनिक ६० लिटर दूध विक्री गर्छन् । ज्योतिपुञ्ज गाई फार्म दर्ता गरेर व्यावसायिक रूपमा दूध उत्पादन गरिरहेका उनले आफ्नो उत्पादन स्थानीय सुप्रभात डेरी उद्योगमा बेच्छन् । पछिल्लो समय डेरीमा थन्किएको घिउ र छुर्पी देख्दा उनको मनमा चिसो पस्न थालेको छ । ‘हाम्रो ठाउँमा आशलाग्दो बनेको गाईपालन नै मासिएलाजस्तो छ,’ उनले भने, ‘दुग्ध बिकेन भने किसानले हातमुख कसरी जोड्ने ? घर–घरमा अभाव छिर्ने खतरा बढ्यो ।’

डेरीमा उत्पादित दुग्ध पदार्थ विक्री नहुँदा इलामका कृषकलाई ‘मिल्क होलिडे’ शुरू हुने त्रास बढेको छ । घिउ र छुर्पी विक्री नभएपछि विराटनगर दुग्ध वितरण आयोजनालगायत निजीक्षेत्रका डेरीले समेत किसानको दूधको भुक्तानी दिन सकेका छैनन् । कृषक अप्ठ्यारोमा परेका छन् ।

‘यसअघि गुणस्तरको आधारमा प्रतिलिटर ७० रुपैयाँ सम्म दूधको मूल्य पाएका किसानले अहिले ४०–५० रुपैयाँमै चित्त बुझाउनुपरेको छ,’ सूर्योदय नगरपालिका–१, मकरजुङका किसान जीवन पोखरेल भन्छन्, ‘समयमा पेमेन्ट छैन, सबै उद्योगमा सामान स्टक देखिन्छ । यो पाराले त मिल्क हालिडे होलाजस्तो भइसक्यो ।’ इलाममा दुग्ध विकास संस्थान (डीडीसी)र निजी दुग्ध उद्योगका लागि ७८ हजार लिटर दूध दैनिक उत्पादन गर्ने करीब चार हजार परिवार कृषकको यस्तै पीडा छ ।

सूर्योदयका दुग्ध व्यवसायी अमृत पाण्डेले घिउ र छुर्पी विक्री नभएपछि निजी डेरीहरू दूधको मूल्य घटाउन बाध्य भएको गुनासो गरे । सनराइज डेरी उद्योगमा दैनिक दूध संकलन गर्दै आएका पाण्डेसँग घिउ र छुर्पी स्टक छ । उनी भन्छन्, ‘सकेसम्म ऋण लिएर पनि किसानको भुक्तानी समयमा गरिरहेको थिएँ । अब अवस्था जटिल भइसक्यो ।’

आयोजनाले पनि घिउ, पाउडर दूधको विक्री सहज नभएसम्म किसानको दूधको मूल्य भुक्तानी सहज नहुने जनाएको छ । विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख परमेश्वर चौधरीले अहिले घिउ र पाउडर गरेर १ सय ३३ टन दुग्ध पदार्थ स्टकमा रहेको जानकारी दिए । ‘भण्डारण कक्ष कुनै खाली छैनन्,’ उनले भने, ‘विक्री ठप्प भएपछि आयोजनालाई दैनिक संकलन हुने दुग्ध व्यवस्थापन झनै चुनौतीपूर्ण बन्दै गएको छ ।’

पशुलाई दाना खुवाउन पनि ऋण काड्नुपर्ने अवस्था आएको गुनासो पोख्दै कृषक राजन भट्टराईले निजी डेरीले दूध लिनै छोड्छन् कि भन्ने डर लाग्न थालेको बताए । उनलाई आयोजनाले दूध थेग्न नसकेपछि मिल्क होलिडे शुरू हुने आशंका छ । सूर्योदय नगरपालिका–१२ का अर्का कृषक भूपेन्द्र गड्तौला आयोजनाले कृषकको दूध खरीद गर्दिन भन्न नमिल्ने बताउँछन् । ‘डीडीसी सरकारको निकाय हो, उसले किसानको दूध अस्वीकार गर्न मिल्दैन,’ उनले भने ।

आयोजना प्रमुख चौधरीले क्षमताले धान्न नसक्ने अवस्था आउन लागेको बताए । ‘आयोजनालाई छोडेर निजी डेरीसँग कारोबार गर्न थालेका दुग्ध कारोबार गर्ने सहकारीले आयोजनामै दूध पठाउन थालेपछि आयाजनाको क्षमताले थाम्न मुस्किल भएको छ,’ उनले भने । गत जेठदेखि आयोजनामा दूध विक्रीको चाप बढ्न थालेको हो ।

दुग्ध पदार्थ विक्री नभएपछि आयोजनाले कृषकलाई दूधको ३० करोड रुपैयाँ भुक्तानी दिन नसकेको चौधरीले स्वीकार गरे । उनका अनुसार, आयोजनाले इलाम, झापा, धनकुटा, तेह्रथुम र विराटनगरका स्थानीय कृषकबाट दैनिक २२ हजार लिटर दूध संकलन गर्ने गरेको छ । अन्य आयोजनाबाट १५ हजार लिटर खरीद गरेर दैनिक ३७ हजार लिटर दूध जम्मा गर्ने गरेको छ । जम्मा भएको दूधमध्ये दैनिक पाँच हजार लिटर स्थानीय बजारमा खपत हुन्छ । बाँकी प्रशोधन गरेर घिउ र पाउडर दूध बनाउने गरेको छ ।

आयोजनाले इलामबाट दैनिक आठ हजार लिटर, झापाबाट पाँच हजार लिटर, धनकुटाबाट ६ हजार लिटर, तेह्रथुमबाट दुई हजार लिटर, आयोजना आसपासका कृषकबाट एक हजार लिटर र अन्य आयोजनाबाट १५ हजार लिटर दूध खरीद गर्दै आएको छ । आयोजनाले २०३० सालदेखि दूध संकलन गर्दै आएको छ । पाँच बिघा क्षेत्रमा फैलिएको आयोजनाको दूध स्टोर गर्ने क्षमता एक लाख लिटर छ । प्रतिघण्टा पाँच हजार लिटर प्रशोधन गर्न सक्छ ।

विराटनगर आयोजनाले इलामको शान्तिडाँडा, पुवाखोला, बिब्ल्याँटे, लक्ष्मीपुर, तीनघरे, फिक्कल, कुटीडाँडा, झापाको गरामनी, धनकुटाको हिले र चित्रेमा चिलिङ सेन्टर स्थापना गरेर दूध संकलन गर्दै आए पनि दुग्ध सहकारीले आयोजनालाई दूध दिन बन्द गरेपछि पुवाखोला, लक्ष्मीपुर, कुटीडाँडाको चिलिङ सेन्टर बन्द गरेको छ ।

इलाममा निजीक्षेत्रका डेरीले दैनिक ५३ हजार लिटर हाराहारी दूध खपत गर्छन् । निजी डेरीमा एक हजारभन्दा बढी कृषकले दूध विक्री गर्दै आएका छन् । इलामका १८ चिज कारखानाले दैनिक २७ हजार लिटर दुग्ध संकलन गर्छन् । स्थानीय बजार क्षेत्रमा दैनिक पाँच हजार लिटर दूध विक्री हुने गरेको छ । छुर्पी बनाउने उद्योगले दैनिक १५ हजार लिटर खपत गर्छन् । ललिपप, बम्बैसनजस्ता मिठाइ बनाउने उद्योगले तीन हजार लिटर र भारतीय बजारमा तीन हजार लिटर दूध विक्री हुने गरेको दुग्ध व्यवसायी बताउँछन् । इलाममा १८ चिज कारखाना, एक सय ५० हाराहारी छुर्पी उद्योग र १३ ओटा दूधबाट मिठाइ बनाउने उद्योग रहेको सरकारी तथ्यांक छ ।

इलाममा वार्षिक एक लाख १६ हजार ८६ मेट्रिक टन दूध उत्पादन हुन्छ । होलिस्टिन, जर्सी गरी इलाममा ३३ हजार ३७१ वटा उन्नत जातका गाई पालिएको सरकारी तथ्यांक छ । गाईपालनमा किसानको ठूलो लगानी भए पनि अनिश्चित बजार र सरकारको बेवास्ताको कारण दुग्ध व्यवसाय संकटमा पर्दै गएको राष्ट्रिय कृषक समूह महासंघ इलामका अध्यक्ष विष्णु दुलालले बताए । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय