कटारी– उदयपुर उद्योग वाणिज्य संघको नवनिर्मिच भवन उद्घाटन भएको छ । योसँगै संघको कार्यालय आफ्नै भवनमा पुगेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल लगायतले शनिबार संघको नवनिर्मित भवन उद्घाटन गरेका हुन् ।
भवन उद्घाटन समारोहमा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले राज्यले सहजीकरण गरेमा निजी क्षेत्रमार्फत छोटो समयमा धेरै विकास गर्न सम्भव रहेको बताए ।
तीनवटै तहका सरकार तथा अन्य सरोकारवाला निकायबाट मुलुकभित्र लगानीमैत्री वातावरण बनाउन सहजीकरण गरियो भने निजी क्षेत्रमार्फत छोटो समयमा मुलुकको विकास सम्भव रहेको उनले बताए ।
छोटो समयमा द्रुत आर्थिक विकास हासिल गर्न सफल रहेको मलेसियाको उदाहरण प्रस्तुत गर्दै ढकालले भने, ‘यदि राज्यले लगानीको वातावरण निर्माण गरी निजी क्षेत्रलाई लगानीका लागि सहजीकरण मात्र गरिदिने हो भने विकास गर्न समय लाग्दैन । राज्यले आफूलाई बिनालगानीको साझेदारको रुपमा निजी क्षेत्रले गरेको लगानीबाट फाइदा लिन सक्छ ।’
केही वर्ष पहिले मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद नेपाल आएका बेला आफूले उनीसँग छोटो अवधिमै मलेसियाले गरेको विकासको रहस्यबारे सोधको र जवाफमा महाथिरले राज्यले निजी क्षेत्रलाई लगानीका लागि सहजीकरण मात्र गर्दियो भने विकास गर्न समय नलाग्ने बताएको ढकालले सम्झिए ।
ग्लोबल आइएमई बैंकका अध्यक्ष समेत रहेका ढकालले स्थानीयको माग बमोजिम केही समयभित्रै ग्लोबल आइएमई बैंकको शाखा उदयपुरको कटारीमा पनि खोल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।