काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक, वित्तीय संस्था डुब्न लागेको भन्ने अफवाहको खण्डन गरेको छ । केन्द्रीय बैंकले मंगलबार एक विज्ञप्ति जारी गरी आफ्नो प्रत्यक्ष नियामकीय तथा सुपरिवेक्षकीय दायरामा रहेका बैंक, वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा हाल केही व्यक्ति र समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको र आफूले उनीहरुको कारोबारको नियमित निगरानी गरिरहेको पनि केन्द्रीय बैंकले स्पष्ट पारेको छ । राष्ट्र बैंकबाट इजाजत लिएर सञ्चालन भइरहेका बैंक, वित्तीय संस्थामा रहेको सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘बैंकिङ जस्तो सम्वेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलागी सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न नेपाल राष्ट्र बैंक हार्दिक अनुरोध गर्दछ,’ राष्ट्र बैंकको विज्ञप्तिमा भनिएको छ ।

राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरू अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्त तथा असल अभ्याससमेतका आधारमा केन्द्रीय बैंकले दिएको निर्देशनको अधीनमा रही सञ्चालन हुने तथा ती संस्थामा केन्द्रीय बैंकबाट नियमित रूपमा निरीक्षण र सुपरिवेक्षण हुने गरेको पनि उसले सम्झाएको छ ।

पछिल्लो समयमा इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको पुँजीकोषको अवस्था, कर्जा निक्षेप अनुपातको अवस्था एवं तरलताको अवस्थासम्बन्धी परिसूचकहरू राष्ट्र बैंकको बैंकको निर्देशनअनुरूप नै रहेको विज्ञप्तिमा उल्लेख छ । कुनै बैंक तथा वित्तीय संस्थामा यी परिसूचकहरू तथा कर्जा, संस्थागत सुशासनलगायतका अन्य विषयमा कुनै समस्या देखिएमा यस बैंकले समयसमयमा आवश्यक निर्देशन दिई सुधार गराउँदै आइरहेको पनि उसले स्पष्ट पारेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणको निक्षेप परिचालन गर्ने हुँदा राष्ट्र बैंकले उनीहरुलाई निर्देशन दिँदा र निरीक्षण वा सुपरिवेक्षण गर्दा समेत सर्वसाधारणको निक्षेपको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्ने गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय