काठमाडौं– खानी तथा भूगर्भ विभागले विभिन्न समयमा खोजतलास गरिएका १५९ खानी उत्खनन गर्न अनुमतिपत्र दिएको छ ।
खानी क्षेत्रको विकास र विस्तारमार्फत राज्यलाई योगदान दिँदै आएको विभागले देशका विभिन्न क्षेत्रमा खानी उत्खननका लागि अनुमतिपत्र दिएको हो । खानी उत्खननका लागि यसअघि २५२ अनुमतिपत्र प्रदान गरे पनि चालू आवमा थप सातवटालाई अनुमतिपत्र दिइएको विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले जानकारी दिए ।

यस्तै, सो विभागले ४२२ खानी खोजतलास गर्न अनुमतिपत्र (लाइसेन्स) दिएको छ । नेपालको खनिजजन्य उद्योग प्रवर्द्धनका लागि यसअघि ३५९ खानी खोजतलास अनुमतिपत्र प्रदान गरेको विभागले चालु आर्थिक वर्षमा थप ६३ खानीका लागि खोजतलास अनुमतिपत्र प्रदान गरेको सूचना अधिकारी बाँस्कोटाले बताए ।

उनका अनुसार फलाम, तामा, सुन, चुनढुंगा, ग्रेनाइट, रुबी, डोलोमाइटलगायत सम्भाव्य खानीको खोजतलासका लागि विभागबाट लाइसेन्स प्रदान गरिएको हो ।

२०३३ सालमा स्थापना भई खानी र भूगर्भको क्षेत्रमा काम गर्दै आएको विभागले हालसम्म ५० भन्दा बढी खानीको पहिचान गरी उत्खननका लागि विभिन्न कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको छ ।

विभागका महानिर्देशक रामप्रसाद घिमिरेले खानी विभागले यस वर्ष मात्रै १० भन्दा बढी स्थानमा खानीको अध्ययन गरिरहेको बताए । उहाँका अनुसार पूर्वी रुकुमको भूमे गाउँपालिकास्थित झुलावाङ क्षेत्रमा फलाम, संखुवासभाको लुहाकोटमा फलाम, भोजपुरको दिङ्लामा तामा, सिन्धुलीको खनियाखर्कमा ग्रेनाइट, धादिङको सुनौला बजारमा डोलोमाइट, धादिङको गणेश हिमालमा रुबी, रुकुममा तामा, उदयपुरको रतुवामाईमा फलाम, मधेस प्रदेशमा सेरामिक्स र धादिङको बेनीघाटमा चुनढंगाको अध्ययन भइरहेको छ ।

चालु आर्थिक वर्षमा विभागले खनिज कार्यका लागि अनुमतिपत्र प्रदान भएका कम्पनीले समयमा नै काम नगरेको भन्दै १०७ खानी तथा कम्पनीको अनुमतिपत्र रद्द गरेको छ । चालु आर्थिक वर्षमा ८२ खानीको अनुगमन तथा निरीक्षण गरिएको छ ।

विभागले चालु आर्थिक वर्षको फागुनसम्म खानी उत्खनन तथा खोजतलासका लागि अनुमति प्रदान गरेबापत ३३ करोड ३२ लाख राजस्व संकलन गरिएको छ । फागुन मसान्तसम्म ३५ करोड ६६ लाख ३३ हजार ४४ राजस्व संकलन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय