खलंगा– जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तर्राष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक ६ लाखभन्दा बढीका ती सामग्री जापान निर्यात भएको छ । अर्गानिक्स एन्ड सुपरफुडका सञ्चालक राज शाहीले तीन टन मार्सी र सिमी निर्यात गरेका हुन् ।

व्यावसायिक रूपमा कर्णालीका खाद्य पदार्थ अन्तर्राष्ट्रिय बजारमा पुर्याउने लक्ष्यका साथ पहिलोपटक ती सामग्री निर्यात भएको उनले जानकारी दिए ।

उनले भने, ‘टोकियोमा रहेको पूर्ण ट्रेडिङका सञ्चालक भुवन श्रेष्ठको समन्वयमा एक टन मार्सी चामल र मासको दाल, दुई टन सिमी र १० किलो स्याउको चाना निर्यात गरिएको छ ।’ कर्णालीका खाद्य पदार्थ व्यावसायिक रूपमा निर्यात भएको यो पहिलोपटक रहेको स्थानीयवासी बताउँछन् । निर्यात भएसँगै जुम्ली मार्सी र सिमीका माध्यमबाट नेपाल नाम अन्तर्राष्ट्रिय बजारमा आफूलाई चिनाउन सफल भएको छ ।

क्यानडा निर्यातको अन्तिम तयारी

२० टन जुम्ली मार्सी सिमी क्यानडा पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । १५ टन मार्सी, चार टन सिमी तथा एक टन हरियो केराउ र कोदो गरेर क्यानडामा माग भएको सञ्चालक शाहीले बताए । क्यानडास्थित लायम फुड कर्पोरेसनका डा पूर्ण कँडेलका समन्वयमा ती वस्तु निर्यात गर्न लागिएको छ ।

ती सामानमा ‘कर्णाली सुपरफुड’ प्रतीक चिह्न हुने सुपरफुडले जनाएको छ । अहिले प्याकेजिङ भइरहेको छ । क्यानडा सामान पठाउन भने केही अप्ठेरो भएको उनले बताए । ‘जापानको लागि स्ट्यान्डर्ड नचाहिने रहेछ, हामीले यहाँबाट सामान पठाएपछि उनीहरूले नै प्याकिङ गर्छन् र बजार पठाउँछन्,’ उनले भने, ‘क्यानडामा हामीले यहाँबाटै प्याकिङ गरेर पठाउने भएकाले निकै गाह्रो भइरहेको छ ।’

काठमाडौंको नयाँ बानेश्वरमा रहेको ‘जुम्ला घर अर्गानिक्स’मा कर्णालीमा उत्पादित स्याउ, सिमी, लसुन, दाल, ओखर, मार्सी चामल, कोदोको पिठो, जिम्बु, आयुर्वेदिक चिया, चिनो, कागुनो र टिमुर उपलब्ध रहेको सञ्चालक शाहीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय