काठमाडौं– कुनै समय विदेशी मुद्रा सञ्चिति घटेर केही वस्तुको आयातमा प्रतिबन्ध लगाउनुपर्ने अवस्थामा पुगेको मुलुकको बैंकिङ प्रणालीमा अहिले इतिहासकै सबैभन्दा बढी विदेशी मुद्रा सञ्चिति छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी ताजा तथ्यांकअनुसार गत असार मसान्तमा १५३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २४.२ प्रतिशतले बढेर चैत मसान्तमा १९११ अर्ब ८६ करोड रुपैयाँ बराबर पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा चैत मसान्तमा २२.७ प्रतिशतले वृद्धि भई १४ अर्ब ३६ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तको १३४५ अर्ब ७८ करोड रुपैयाँबाट बढेर चैत मसान्तमा १६८८ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । असारको तुलनामा चैतमा नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २५.४ प्रतिशतले बढी हो ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग २०८० असार मसान्तमा १९३ अर्ब ५९ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति रहेकोमा २०८० चैत मसान्तमा १५.५ प्रतिशतले वृद्घि भई २२३ अर्ब ६५ करोड रुपैयाँ कायम भएको छ । २०८० चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.६ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८०–८१ को नौ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५ महिनाको वस्तु आयात र १२.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकको भनाइ छ ।

२०८० चैत मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३३.५ प्रतिशत, १०४ प्रतिशत र २८.९ प्रतिशत छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.८ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय