काठमाडौं– नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिकोत्सवका अवसरमा आयोजित दौड प्रतियोगिता सम्पन्न भएको छ ।

शनिबार बिहान भएको दौड प्रतियोगिताका विजयीलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले पुरस्कार वितरण गरेका छन् । पुरस्कार वितरण समारोहमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले स्वस्थ शरीर, स्वस्थ मन र स्वस्थ समाज स्थापनाका लागि दौड प्रतियोगिता आयोजना गरिएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली सेनाका प्रधानसेनापति थापालाई स्वागत गर्दै अध्यक्ष श्रेष्ठले नेपाली सेनाद्वारा निर्माणाधीन पूर्वाधार विकास तथा निर्माणका कामले पनि सेनासँग नेपालको निजी क्षेत्रको सामिप्यता बढाएको बताए ।

२००७ सालमा प्रजातन्त्रको स्थापनासँगै चेम्बरले समाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको बताउँदै अध्यक्ष श्रेष्ठले समाजका सबै क्षेत्रमा व्यवसायी अग्रपंक्तिमा रहेको दाबी गरे ।

स्थापनाको ७०औं वार्षिकोत्सवका अवसरमा चेम्बरले चित्रकला प्रतियोगिता, रक्तदान कार्यक्रम, दौड प्रतियोगिता सम्पन्न गरिसकेको छ । नेपाल महिला चेम्बरले व्यापारिक प्रदर्शनी तथा मेला आयोजना गर्दैछ । चेम्बरले गल्फ प्रतियोगिता पनि गर्दैछ ।

दौड प्रतियोगिताका विजयी पुरस्कृत
चेम्बर स्थापनाको ७०औं वार्षिकोत्सवका अवसरमा चेम्बरको शिक्षा तथा खेलकूद समितिले आयोजना गरेको दौड प्रतियोगितामा ३१५ जना खेलाडी सहभागी भएका छन् । विद्यार्थी, सञ्चारकर्मी र व्यवसायीका अलगअलग दौड प्रतियोगिता गरिएको थियो । प्रतियोगितामा छात्रतर्फ आदर्श सौला युवक माविका उदय लिम्बू प्रथम, नेपालय एजुकेसन फाउन्डेसनका युनिस आले मगर द्वितीय, आदर्श सौला युवक माविका प्रवीण तामाङ तृतीय भएका छन् ।

यसैगरी भीमोदय मोडेल स्कुलका अमृत बोट, पिस प्वाइन्ट स्कुलका ओमप्रकाश थाकर र एम्स स्कुलका अविनाश कार्कीले सान्त्वना स्थान प्राप्त गरे ।
छात्रातर्फ पञ्चकन्या माविकी सरिता रम्तेल प्रथम, पञ्चकन्या माविकै सोनु घताने द्वितीय, र गान्धी आदर्श स्कुलकी अञ्जु खड्का तृतीय भएका छन् । यस्तै सिसिआरसीकी निशा थापा, पञ्चकन्या माविकी कविता चौलागाईं र नेपाल आदर्श माविकी बसन्ती कुँवरले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

पत्रकारतर्फ महानगरखबर डट कमका रमेश शाक्य पहिलो, अप्सरा साप्ताहिकका बालकृष्ण डंगोल दोस्रो र देखापढी डट कमका निकेश खत्री तेस्रो भएका छन् । यस्तै व्यवसायीतर्फ सचिन्द्र प्रधानांग प्रथम, नवराज ढकाल द्वितीय र मणिकरत्न शाक्य तृतीय भए । कार्यक्रममा वरिष्ठ म्याराथन धावक वैकुण्ठ मानन्धर र रामकृष्ण महर्जनलाई सम्मानित गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय