काठमाडौं– गत भदौमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (महँगी दर) ३.८५ प्रतिशत कायम भएको तथ्यांक नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।

केन्द्रीय बैंकले मंगलबार सार्वजनिक गरेको भदौ मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदन अनुसार २०८० भदौमा महँगी वृद्धिदर ८.१९ प्रतिशत थियो ।

गत भदौमा खाद्य तथा पेय पदार्थ समूहको महँगी वृद्धिदर ५.०३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ३.१९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति (महँगीदर) क्रमशः ९.७७ प्रतिशत र ७.१९ प्रतिशतले वृद्धि भएको थियो ।

गत भदौमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत दाल तथा गेडागुडी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १०.८० प्रतिशत, तरकारीको ९.८४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.३४ प्रतिशत र फलफुलको ४.९४ प्रतिशतले बढेको छ भने मरमसला उप–समूहको २.६९ प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ८.७१ प्रतिशत, मदिराजन्य पेय पदार्थको ६.७६ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.०८ प्रतिशत र घरायसी उपकरणको ४.८८ प्रतिशतले बढेको छ भने विमा तथा वित्तीय सेवा उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांकमा परिवर्तन नभएको राष्ट्र बैंकको भनाइ छ ।

भदौमा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ४.०४ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ३.७८ प्रतिशतले बढेको छ ।

प्रदेशगत रुपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६६ प्रतिशत, मधेश प्रदेशको ३.८२ प्रतिशत, बागमती प्रदेशको ३.२९ प्रतिशत, गण्डकी प्रदेशको ३.५० प्रतिशत, लुम्बिनी प्रदेशको ३.५३ प्रतिशत, कर्णाली प्रदेशको ३.५६ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ५.९० प्रतिशत रहेको छ । गत भदौमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.४९ प्रतिशत, तराईको ४.०९ प्रतिशत, पहाडको ३.६१ प्रतिशत र हिमालको ४.१९ प्रतिशत रहेको छ । २०८० भदौ महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ९.८३ प्रतिशत, ७.०३ प्रतिशत, ८.०९ प्रतिशत र ११.३२ प्रतिशत रहेको थियो ।

२०८१ भदौमा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.८५ प्रतिशत रहेको छ । सन् २०२४ सेप्टेम्बरमा भारतमा यस्तो मुद्रास्फीति ५.४९ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय