काठमाडौं– अन्तर्राष्ट्रिय दातृ निकाय डिएफआइडीको सहयोगमा एक्सेस टू फाइनान्स अन्तर्गत युकेएड सक्षमसँगको सहकार्यमा २०७६ भदौ २६ देखि राष्ट्र बैंकमा सञ्चालनमा रहेको रियल टाइम ग्रोस सेटलमेन्ट (आरटिजिएस) सिस्टम तथा मोडुलर डाटा सेन्टर शुक्रबार नेपाल राष्ट्र बैंकलाई हस्तान्तरण गरिएको छ ।

राष्ट्र बैंकको केन्द्रीय कार्यालय, बालुवाटारमा आयोजित एक कार्यक्रममा हस्तान्तरण सम्पन्न भएको हो । उक्त प्रणालीमार्फत हुने मासिक कारोबारको आकार १३ खर्ब रुपैयाँ बराबर रहेको र यसमा सहभागी बैंक वित्तीय संस्थाको संख्या ३७ पुगको सो अवसरमा जानकारी दिइयो ।

राष्ट्र बैंकका गभर्नरको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र नेपालस्थित बेलायती राजदूतावासका प्रतिनिधि रब क्लार्क, युकेएड सक्षमका प्रतिनिधि तथा नेपाल राष्ट्र बैंकका पदाधिकारी लगायतको उपस्थिति रहेको राष्ट्र बैंकको विज्ञप्तिमा उल्लेख छ । कार्यक्रम सञ्चालन भुक्तानी प्रणाली विभागका निर्देशक निश्चल अधिकारीले गरेका थिए । कार्यक्रमको सुरुमा युकेएड सक्षमका तर्फबाट टिम लिडर निर्मल दाहालले आरटिजिएस सिस्टम तथा मोडुलर डाटा सेन्टर प्रोजेक्टको विषयमा संक्षिप्त मन्तव्य राख्दै उक्त प्रोजेक्ट कार्यान्वयनको सिलिसिलामा नेपाल राष्ट्र बैंकबाट भएको सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा मन्तव्य राख्ने सिलसिलामा भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले आरटिजिएस सिस्टममार्फत हुने कारोबारहरु हाल मासिक औसत १३ खर्ब बराबर रहेको, सहभागी बैंक तथा वित्तीय संस्थाको संख्या ३७ रहेको र यो संख्या बढ्दो क्रममा रहेको जानकारी दिँदै नेपालको भुक्तानी प्रणालीमा विशेष महत्त्व राख्ने आरटिजिएस सिस्टम कार्यान्वयनमा ल्याउन सहयोग गर्ने युकेएड सक्षमप्रति धन्यवाद ज्ञापन गरे ।

कार्यक्रमको दास्रो सत्रमा आरटिजिएस सिस्टम हस्तान्तरण गरी लिनका लागि युकेएड सक्षमका टिम लिडर दाहाल र राष्ट्र बैंकका कार्यकारी निर्देशक कँडेलबीच रियल टाइम ग्रोस सेटलमेन्टर सिस्टम हस्तान्तरण प्रमाणपत्र आदानप्रदान भएको थियो ।
त्यसैगरी, मोडुलर डाटा सेन्टर हस्तान्तरण गरी लिनका लागि युकेएड सक्षमका टिम लिडर दाहाल र नेपाल राष्ट्र बैंकका निर्देशक शिवराम दवाडीबीच मोडुलर डाटा सेन्टर हस्तान्तरण आदानप्रदान भएको थियो ।

प्रमाणपत्र आदानप्रदान कार्यक्रमपश्चात् उपस्थित बेलायती राजदूतावासका प्रतिनिधि रब क्लार्कले नेपालको वित्तीय क्षेत्रको सुदृढीकरणको लागि युकेएडले गरेको सहयोगबारे चर्चा गर्दै आगामी दिनमा पनि यस किसिमको सहयोग गर्ने प्रतिबद्घता जाहेर गरे ।

कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आरटिजिएस प्रणाली र मोडुलर डाटा सेन्टर परियोजना हस्तान्तरण गरी लिने कार्य सफलतापूर्वक सम्पन्न भएकोमा बधाईका साथै आगामी दिनका लागि शुभकामना व्यक्त गरे । नेपालको वित्तीय क्षेत्रको सुदृढीकरण तथा वित्तीय पूर्वाधार विकासका लागि बेलायत सरकारको उल्लेखनीय सहयोग रहेकोले बेलायत सरकार र त्यहाँका जनताप्रति कृतज्ञता व्यक्त गरे ।

युकेएड सक्षम एक्सेस टू फाइनान्स परियोजनाले नेपालमा वित्तीय समावेशिता बढाउन महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै सो परियोजनाले डुइङ बिजनेस इन्डेक्समा नेपालको स्तर बढाउन सहयोग गरेको बताए ।

गभर्नर अधिकारीले डिजिटल नेपाल अभियान सफल बनाउन आगामी दिनमा समेत युकेएडबाट यस किसिमको सहकार्य रहने अपेक्षा गरेका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय