काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ठूला परियोजनाहरू पहिला नै तयार गरी लगानी सम्मेलन गर्न सके त्यो बढी फलदायी हुने बताएका छन् । तयारी नगरी लगानी सम्मेलन लगायतका कार्यक्रम गर्दा त्यो अपेक्षाकृत सफल हुन नसकेको अध्यक्ष गोल्छाको धारणा छ ।

‘अब हामीले रेडिमेड प्रोजेक्ट सहित छिमेकी भारत तथा चीनबाट वास्तविक लगानीकर्ता भित्र्याउने गरी काम गर्नुपर्छ,’ अध्यक्ष गोल्छाले भने, ‘देशमा लगानी सम्मेलन त भए तर केही ठूला जलविद्युतमा रहेको प्रत्यक्ष वैदेशिक लगानीलाई छोडेर हेर्ने हो भने अपेक्षित रूपमा विदेशी लगानी आउन सकेको छैन, यो यथार्थ हो ।’ महासंघले भारत, चीन लगायतका बाह्य लगानी आउन सक्ने देशका यहाँस्थित दूतावासहरूसँग पनि यस विषयमा छलफल अगाडि बढाएको अध्यक्ष गोल्छाले जानकारी दिए ।

‘खासगरी २०४६ सालको परिवर्तन पश्चात मुलुकले अवलम्बन गरेको आर्थिक उदारीकरणको नीतिसँगै नेपालमा प्रत्यक्ष वैदेशिक लगानी आकर्षित भई लगानी समेत आएका थिए तर विविध कारणबाट त्यो विस्तार भएर जान सकेन । नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीहरूले नाफा पनि राम्रो गरेका छन् तैपनि थप बाह्य लगानी भित्रन सकेको छैन, समस्या कहाँ छ त्यसको निर्क्योल गर्न सरकार तथा निजी क्षेत्रको एकिकृत प्रयासको खाँचो छ,’ अध्यक्ष गोल्छाले भने, ‘नेपालमा कुन क्षेत्रमा विदेशी लगानी खुला गर्ने र कुन क्षेत्रमा नगर्ने भन्ने विषयमा पनि निकै धेरै गृहकार्य जरूरी छ ।’

बाह्य लगानी आकर्षणमा रहेका बाधा हटाउनुपर्ने र विदेशी लगानीकर्ताले लैजाने मुनाफाका विषयमा पनि थप स्पष्टता जरुरी रहेको महसुस निजी क्षेत्रले गरेको उनले बताए । अध्यक्ष गोल्छा अगाडि भन्छन्, ‘बाह्य लगानी आकर्षणको अर्को महत्त्वपूर्ण पक्ष भनेको कन्ट्री रेटिङ पनि हो जुन हामी भर्खर त्यसको अभ्यास गर्दैछौं । अर्को एकद्वार प्रणालीको प्रभावकारी उपयोगमा सरकारको प्रतिवद्धता आवश्यक देखिन्छ ।’

उनका अनुसार कोभिडकै कारण यतिखेर विश्वमा प्रत्यक्ष वैदेशिक लगानीमा कमी आइरहेको बेला कोभिडपश्चात नेपालमा बाह्य लगानी आकर्षण गर्न अहिलेदेखि नै गृहकार्य गर्न जरुरी छ । नेपाल उद्योग वाणिज्य महासंघको अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन समिति विस्तार कार्यक्रमलाई महासंघ सचिवालयमा सम्बोधन गर्दै अध्यक्ष गोल्छाले समितिलाई बाह्य लगानी आकर्षणका वास्तविक समस्याहरूको पहिचान सहित महासंघको सुझाव तयार गर्न सुझाए । समितिको कार्य क्षेत्रनै मुलुकभित्र अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन रहेकाले यसमा ठोस उपलब्धि हुने गरी केन्द्रीत हुन सुझाए ।

अध्यक्ष गोल्छाले वास्तविक लगानीकर्ताको सहभागितामा लगानी सम्मेलन गर्ने गरी समितिलाई तयारी थाल्न पनि सुझाए । उनले भने–भारत र चीनका यहांस्थित दूतावासहरूसंग समेत समन्वय गरेर गृहकार्य थाल्नुहोस् ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल बाह्य लगानी आकर्षणका लागि लालयित छ भन्ने संदेश दिन समितिले कार्य गर्ने विश्वास आफूले गरेको बताए । वरिष्ठ उपाध्यक्ष ढकालले मुलुकभित्र प्रत्यक्ष विदेशी लगानी आकर्षण नसकेको विषयमा गहिरो अध्ययन गरी महासंघको सुझाव तयार गर्न समितिलाई सुझाए ।

महासंघको कार्यकारिणी समितिका सदस्य आनन्दकुमार वगाडियाको सभापतित्वमा गठित उक्त समिति विस्तार भएको छ । समितिका सदस्यहरूमा शक्तिकुमार बेगानी, गजेन्द्र भगत, दिवाकार राठी, समिर शर्मा, समीक्षा राई, दिलिप अग्रवाल र दिपिका श्रेष्ठ छन् । त्यसैगरी समितिका सल्लाहकारहरूमा इन्जिनियर देशबन्धु बस्नेत अजित, सुनिल केसी, डा. नारायणप्रसाद रेग्मी र कुमार पन्त छन् भने आमन्त्रितहरूमा संदीपकुमार अग्रवाल, साहिल अग्रवाल, विजयसिंह वैद्य, संजय गिरी, भरतराज आचार्य, अभिमतराज सुमार्गी, शुभाशिष थपलिया, उज्ज्वल श्रेष्ठ, गुरुप्रसाद ढकाल, विशालमणि उपाध्याय, मनोज पौडेल, सैबल घोष र रमेश अधिकारी छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय