काठमाडौं– एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको तेस्रो वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ ।

कम्पनीको रजिस्टर्ड कार्यालय, जाजरकोटमा सञ्चालक समितिका अध्यक्ष कपिल ढकालको सभापतित्वमा सभा सम्पन्न भएको कम्पनीले जनाएको छ । सो अवसरमा संस्थाको आर्थिक वर्ष ०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ असार मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष ०७६/७७ को नाफानोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु परित भएको कम्पनीले जनाएको छ ।

सभाले स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडसँग भएको मर्जरसम्बन्धी अन्तिम सम्झौता पनि पारित गरेको छ । त्यसैगरी, संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा समयानुकूल संशोधन गर्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको छ ।

साधारणसभामा तय भएको सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुईजना सञ्चालकहरु शंशाक अग्रवाल र प्रभा बुढा ज्ञवाली निर्विरोध निर्वाचित भएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

एनआइसी लघुवित्त वित्तीय संस्थाले १२० शाखा कार्यालयबाट करिब ४७ हजार सदस्य सहित करिब ३६ हजार कर्जा सेवाग्राहीलाई वित्तीय सेवा प्रदान गर्दै आएको विज्ञप्तिमा उल्लेख छ । संस्थाले वित्तीय समावेशीकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाको उपस्थिति न्यून रहेको दुर्गम जिल्लामा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आइरहेको बताइएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय