
काठमाडौं– बुक बिल्डिङ विधिबाट सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टले तीन महिनाभित्रै २५ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर दिने भनी गरेको प्रचारलाई धितोपत्र गलत भनेको छ ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को टोलीसँग मंगलबार भएको अन्तरक्रियामा बोर्डका कार्यकारी निर्देशक निरज गिरीले उक्त कम्पनीको प्रचारमुखी गतिविधिलाई बोर्डले राडारमा राखेर नियालिरहेको बताएका छन् ।
सर्वोत्तम सिमेन्टले केही दिनअघि आइपिओ जारी गरेको तीन महिनाभित्रमै सेयरधनीलाई २५ प्रतिशत नगद र १० प्रतिशत बोनस सहित ३५ प्रतिशत लाभांश दिने प्रचार गरेको थियो ।
सर्वोत्तमको प्रचारबाजी सम्बन्धी प्रश्नको जवाफ दिने क्रममा बोर्डका कार्यकारी निर्देशक गिरीले भने, ‘कुनै पनि कम्पनीले हाम्रो क्षमता यति छ भन्न सक्छ तर ‘यो समयमा यति लाभांश दिन्छौं’ भन्न मिल्दैन ।’ सर्वोत्तम सिमेन्टको उक्त प्रचारलाई बोर्डले ‘राडार’मा राखेको उनले बताए ।