मुम्बई– भारतकी विख्यात गायिका आशा भोसलेको आइतवार मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा निधन भएको उक्त अस्पतालका चिकित्सकले पुष्टि गरेका छन् । कार्डियक अरेस्ट भएपछि भोसलेलाई शनिबार अस्पताल भर्ना गरिएको थियो ।

दशकौंसम्म गायन क्षेत्रमा सक्रिय उनी ९२ वर्षकी थिइन् ।

८ सेप्टेम्बर १९३३ मा महाराष्ट्रमा जन्मिएकी भोसलेले मात्र ९ वर्षको उमेरदेखि नै गीत गाउन थालेकी थिइन्। पिता दीनानाथ मंगेशकरको निधनपछि परिवारको आर्थिक जिम्मेवारी सम्हाल्न उनले दिदी लता मंगेशकरसँगै गीत गाउन र अभिनय गर्न थालेकी थिइन्। सन् १९४३ मा मराठी फिल्मबाट पार्श्व गायन सुरु गरेकी उनले १९४८ को फिल्म चुनरियाबाट हिन्दी सिनेमामा प्रवेश गरेकी थिइन्।

आफ्नो बहुमुखी प्रतिभाका कारण गजल, भजन, पप र शास्त्रीय संगीतमा जादुमयी स्वर दिएकी आशाको नाममा विश्व कीर्तिमान समेत छ। सन् २०११ मा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले उनलाई संगीतको इतिहासमा विश्वमै सबैभन्दा बढी स्टुडियो रेकर्डिङ गर्ने कलाकारको रूपमा मान्यता दिएको थियो।

आशा भोसलेले भारतका २० भन्दा बढी भाषा र विदेशी भाषाहरूमा समेत गरी १२ हजारभन्दा बढी गीत गाएकी छन्। ‘दम मारो दम’, ‘चुरा लिया है तुमने जो दिल को’, ‘पिया तू अब तो आजा’ जस्ता उनका कालजयी गीतहरू आज पनि उत्तिकै लोकप्रिय छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय