काठमाडौं– पूर्वसचिव अर्जुनकुमार कार्कीले ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट २०२१’ को उपाधि जितेका छन् । नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिकोत्सवको अवसरमा आयोजना भएको नेपाल चेम्बर गल्फ टुर्नामेन्टको पहिलो संस्करणको उपाधि कार्कीले जितेका हुन् ।

रोयल नेपाल गल्फ क्लबमा शनिबार ४१ स्कोर कार्डसहित कार्कीले उपाधि जितेका हुन् । स्टेबल फोर्ड ३/४ ह्यान्डिक्याप फम्र्याटमा भएको प्रतियोगिताको पहिलो दिन शुक्रबार २३ स्कोर बनाएका कार्कीले दोस्रो दिन १८ स्कोर जोड्दै उपाधि जितेका हुन् । ३६ स्कोर बनाएका कृष्ण पुन काउन्ट ब्याकको आधारमा उपविजेता बने ।

महिलातर्फको उपाधि गीता गुरुङले जितिन् । उहाँले ३८ स्कोर बनाउनुभयो । रेखा घिमिरे ३५ स्कोरसहित उपविजेता बने । सिनियर पुरुषतर्फको उपाधि पूर्वसेनाप्रमुख जनरल गौरव शमशेर राणाले जिते । सिनियर पुरुषतर्फ दिलीपजंग रायमाझी उपविजेता बने ।

चेम्बरतर्फको उपाधि एसएसपी अशोक सिंहले जित्दा उपविजेता पवित्रकुमार कार्की हुने । प्रतियोगितामा उत्कृष्ट ग्रस र मस्ट बर्डिजको उपाधि हृदेश कुमार सिंहले जिते । लंगेस्ट ड्राइभको उपाधि श्रीजय आचार्यले जित्दा क्लोजेस्ट टू पिनको उपाधि तेजबहादुर राईले जिते । विजेता तथा उपविजेताहरूलाई प्रमुख अतिथि एवं नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

नेपाल चेम्बर र रोयल नेपाल गल्फ क्लबको संयुक्त आयोजनामा भएको दुईदिने प्रतियोगितामा ८८ खेलाडीको सहभागिता रहेको थियो । नेपाल चेम्बर अफ कमर्स र रोयल नेपाल गल्फ क्लबबीच पाँच वर्षका लागि ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ आयोजना गर्ने समझदारी अनुसार प्रतियोगिताको पहिलो संस्करण सम्पन्न भएको हो ।

‘नेपाल गल्फ पर्यटनको गन्तव्य’
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आउँदा वर्षहरूमा ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’लाई अन्तर्राष्ट्रिय स्तरमा रुपान्तरण गरिने बताए । उनले गल्फ लगायत खेलकुदमार्फत पर्यटनको विकासमा सरकारसँग हातेमालो गर्न निजी क्षेत्र तयार रहेको बताए ।

प्रमुख अतिथि एवं नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गल्फ लगायत खेल अर्थतन्त्रसँग जोडिएकाले पर्यटन प्रवर्द्धनमार्फत वैदेशिक मुद्रा आर्जन गर्न सक्ने बताए । देशमा आवश्यकता अनुसारले गल्फ कोर्टहरू बनाई यो खेलको विकासमा लाग्नुपर्ने बताए ।

रोयल नेपाल गल्फ क्लबका अध्यक्ष प्रचण्डमान श्रेष्ठले नेपाललाई गल्फ पर्यटनको केन्द्र बनाउन सकिने बताए । थाइल्यान्डले गल्फ पर्यटनबाट हरेक वर्ष १० लाख पर्यटकहरू आकर्षित गरी ६ अर्ब अमेरिकी डलरको वार्षिक व्यापार गरिरहेको उदाहरण दिँदै उनले नेपालले यसबाट प्रेरणा लिन सक्ने बताए । नेपालको मौसम, जलवायु, प्राकृतिक सुन्दरता, भूगोल र मित्रवत् नागरिकका कारण गल्फ पर्यटनको गन्तव्यका रुपमा विकास गर्न सक्ने सम्भावना रहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय