काठमाडौं– अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयर निष्कासन गर्ने सूचना सार्वजनिक हुनुअघि सूचना चुहाएको गुनासोको विषयमा नेपाल धितोपत्र बोर्डले छानबिन सुरु गरेको छ । दोषी भेटिए कारबाही गर्ने पनि बोर्डले जनाएको छ ।

अजोडले हकप्रद सेयर निष्कासन गर्दैछ भन्ने सूचना चुहिएपछि चैत १६ गते कम्पनीको सेयर मूल्य बढेर सर्किट लागेको थियो । कम्पनी सञ्चालक समितिले नियमनकारी निकायलाई जानकारी नगराई सूचना चुहाएको भन्दै धितोपत्र बोर्डमा उजुरी परेको थियो ।

बोर्डले सोमबार एक विज्ञप्ति जारी गरी अजोडको धितोपत्र कारोबारमा वृद्धि भएको सम्बन्धमा विभिन्न सञ्चार माध्यममा आएका समाचार तथा बोर्डमा प्राप्त गुनासा सम्बन्धमा बोर्डको ध्यानाकर्षण भएको जनाएको छ ।

समाचार र गुनासोपछि बोर्डले चैत १८ गते सोसम्बन्धी कारोबारको अवस्था, प्रारम्भिक सुपरिवेक्षणमा देखिएको विवरण तथा कारोबारसम्बन्धी विवरण बोर्डमा पेस गर्न नेपाल स्टक एक्सचेन्जलाई पत्राचार गरेको थियो । स्टकले पत्रमार्फत अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयर निष्कासन गर्ने सूचना प्रकाशन हुनुअघि नै चैत १६ गते भएको धितोपत्र कारोबारमा १० वृद्धि भई सर्किट लागेको भनी सो कारोबारसम्बन्धी विवरण बोर्डमा पेस गरेको छ ।

यसै सन्दर्भमा उल्लेखित कारोबारका सम्बन्धमा थप अध्ययन, अनुसन्धान गर्न बोर्डका निर्देशकको संयोजकत्वमा सोमबार एक उप–समिति गठन गरी जाँचबुझ कार्य अगाडि बढाइसकेको बोर्डले जनाएको छ । भित्री कारोबार भएको पाइए नियमानुसार कारवाही गर्ने पनि बोर्डले जनाएको छ । बोर्डले धितोपत्र बजारका स्थापित मूल्य, मान्यता अनुरुप बजारलाई स्वच्छ र पारदर्शी रुपमा सञ्चालन गर्न पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय