काठमाडौं– नेपालले प्राप्त गरेको अफिसियल डेभलपमेन्ट एसिस्टेन्स (ओडिए) को आकार सन् २०१९/२० मा २००३ मिडिलन अमेरिकी डलर पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा २१.२ प्रतिशतले बढी हो । अघिल्लो वर्ष सन् २०१८/१९ मा नेपालले १५७८ मिलियन अमेरिकी डलर यस्तो सहयोग पाएको थियो ।

अर्थ मन्त्रालय अन्तर्गतको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाले सार्वजनिक गरेको द डेभलपमेन्ट कोअपरेसन रिपोर्ट २०२० मा सन् २०१९ को जुलाई १६ देखि २०२० को जुलाई १५ सम्म विभिन्न द्विपक्षीय र बहुपक्षीय विकास साझेदारबाट प्राप्त ओडिए र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट प्राप्त सहयोगको विस्तृत विवरण छ ।

प्रतिवेदनमा बहुराष्ट्रिय र द्विराष्ट्रिय विकास साझेदारबाट सो अवधिमा प्राप्त सहयोगको बनाबट र विश्लेषण तथा विभिन्न क्षेत्रमा उनीहरुको संलग्नता एवं भुक्तानीको प्रकार र मोडालिटी समेत समेटिएको छ ।

प्रतिवेदन अनुसार सन् २०१९/२० मा विभिन्न विकास साझेदारबाट नेपाललाई २००३ मिलियन अमेरिकी डलर भुक्तानी भएको छ । अघिल्लो वर्ष यस्तो भुक्तानी १५७८ मिलियन डलर थियो । २०१९/२० को भुक्तानी अघिल्लो वर्षको तुलनामा २१.२ प्रतिशतले बढी हो । प्रतिवेदन अनुसार अन्तराष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) हरुको योगदान भने सन् २०१८/१९ को २१५.३ मिलियन अमेरिकी डलरबाट घटेर सन् २०१९/२० मा १३१.८ डलरमा सीमित भएको छ ।

पछिल्लो वर्ष नेपाललाई प्राप्त कुल ओडिए भुक्तानीको २५ प्रतिशत (५१२.९ मिलियन डलर) कोभिड–१९ प्रतिकार्य र पुनरुत्थानका लागि भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार सन् २०१९/२० मा प्राप्त कुल ओडिएको ६९.९ प्रतिशत ऋण र १८.७ प्रतिशत अनुदान छ । ११.३ प्रतिशत प्राविधिक सहायता प्राप्त भएको छ । ओडिएमा ऋणको बढ्दो हिस्साले बहुराष्ट्रिय विकास बैंक र निकायहरुबाट सहुलियत ऋण पाउने नेपालको योग्यता प्रतिबिम्बित गर्दछ ।
विकास साझेदारबाट प्राप्त हुने बजेटरी सहायताको अनुपात बढ्दै गएको प्रतिवेदनले औंल्याएको छ । बजेटरी सहायताको

हिस्सा सन् २०१८/१९ को १५.२ प्रतिशतबाट बढेर सन् २०१९/२० मा ३६.९ प्रतिशत पुगेको छ । प्रतिवेदनले बजेटमार्फत आउने सहायतामा पनि उल्लेख्य सुधार आएको देखाएको छ । गत वर्ष १६७२.९ मिलियन डलर (८३.५ प्रतिशत) सहायता बजेटमार्फत आएको छ । अघिल्लो वर्ष ७८.४ प्रतिशत सहायता मात्रै बजेटमार्फत आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय