काठमाडौं– निर्यातमा संलग्न व्यवसायीको संसथा नेपाल निर्यात व्यवसायी महासंघले आगामी पाँच वर्षमा नेपालको निकासी सात खर्ब रुपैयाँ पुर्याउने लक्ष्य सार्वजनिक गरेको छ ।

एक वर्षअघि स्थापित महासंघले आफ्नो पहिलो वार्षिक साधारणसभा उद्घाटन सत्रमा निकासी व्यापार अबको तीन वर्षमा दोब्बर र पाँच वर्षमा सात खर्ब पुर्याउने लक्ष्य सार्वजनिक गरेको हो ।

महासंघले सार्वजनिक गरेको रणनीतिक योजनामा अबको पाँच वर्षमा सात खर्ब रुपैयाँ बराबरको वस्तु निकासी गर्न चारवटा अवधारणामा काम गर्नुपर्ने उल्लेख छ ।

नेपालमा निकासीयोग्य वस्तु नै थोरै रहेको र स्वदेशी वस्तुको प्रतिस्पर्धी क्षमता पनि नभएको सन्दर्भमा महासंघको योजना महत्त्वाकांक्षी देखिएको छ ।

हाल नेपालको वार्षिक वस्तु निकासी एक खर्ब हाराहारी मात्रै छ । महासंघले तीव्र गतिमा बढ्दो व्यापार घाटा कम गर्न उत्पादन वृद्धिसँगै निर्यात बढाउनुको विकल्प नभएको बताएको छ ।

महासंघले अघि सारेका चार अवधारणामा विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने र राम्रो मूल्य पाउन सक्ने खालका नेपाली वस्तु तथा सेवाको सघन पाइपलाइन बनाउने, नेपाली निर्यातलाई स्वदेश तथा विदेशमा प्रतिस्पर्धी बनाई राख्न आवश्यक वातावरण निर्माण गर्ने तथा बिनाहस्तक्षेप अगाडि बढ्ने अवसर सिर्जना गर्ने, महासंघ र निर्यातको कार्यसूचीलाई आर्थिक बहस एवं नीति निर्माणको केन्द्रमा राख्ने गरी बृहत् सञ्चार रणनीति बनाएर कार्यान्वयन गर्ने र आफ्नो लक्ष्यमा नतिजा दिन सक्ने गरी सुव्यवस्थित तथा साधन स्रोत सम्पन्न महासंघको विकास गर्ने रहेका छन् ।

कार्यक्रममा सहभागी अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र सञ्चारमन्त्री पार्वत गुरुडले व्यवसायीले अघि सारेका रणनीतिलाई सहयोग गर्न सरकार तयार रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय