काठमाडौं– आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको पाँचौं वार्षिक सभा सम्पन्न भएको छ । उक्त सभाले सेयरधनीलाई ८.८५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारणसभाले गत आव ०७६–७७ सम्मको मुनाफाबाट प्रस्ताव गरिएको उक्त लाभांश प्रस्ताव पारित गरेको हो ।

सभाले बनेपास्थित बिपिडब्लू लघुवित्त र बुुटवलस्थित देउराली लघुवित्त वित्तीय संस्थालाई सेयर अनुुपात १००ः९५ः९५ हुने गरी प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । प्राप्तिपश्चात कम्पनीको सेयर स्वामित्व अनुपात ६३.६५ प्रतिशत (संस्थापक) र ३६.३५ प्रतिशत (सर्वसाधारण) हुने छ ।

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नाममा सेयर स्वामित्व अनुपात ६८.३० प्रतिशत (संस्थापक) र ३१.३० प्रतिशत (सर्वसाधारण) रहने प्रस्तावसमेत पारित भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले जानकारी दिए ।

उनका अनुसार भविष्यमा थप कुनै लघुवित्त संस्था एक आपसमा गाभ्ने–गाभिने तथा प्राप्ति–समाहित गर्ने विषयमा सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय पनि साधारणसभाले गरेको छ । साधारणसभाले संस्थापक अध्यक्ष जगतबहादुर पोखरेलसहित ६ जनालाई नयाँ सञ्चालक समितिको सदस्यमा निर्विरोध निर्वाचित गरेको छ ।

संस्थापक समूह क बाट प्रतिनिधित्व हुने सञ्चालक चारजना र सर्वसाधारण समूह ख बाट प्रतिनिधित्व हुने गरी सञ्चालक दुई जनाको पदावधि समाप्त भएको भन्दै निर्वाचन अधिकृत भक्तिराम घिमिरेले निर्विरोध निर्वाचित भएको घोषण गरेका थए ।

त्यसअनुसार संस्थापक समूह क बाट अध्यक्ष पोखरेल, दीपक तिवारी, पुष्पराज ढकाल र सन्तोष पोखरेल सञ्चालक समितिमा निर्वाचित भएका हुन् भने सर्वसाधारण समूह ख बाट केशवराज पन्थी र विमल आचार्य चयन भएका छन् ।

सञ्चालकको पहिलो बैठकले संस्थाका संस्थापक अध्यक्ष पोखरेललाई नै चार वर्षका लागि फेरि अध्यक्षमा चयन गरेको छ ।

देशभरका लघुवित्त वित्तीय संस्थाको साझा संस्था लघुवित्त संघ नेपालका केन्द्रीय अध्यक्षसमेत रहेका पोखरेलले आफूले नेतृत्व गरेको लघुवित्त वित्तीय संस्थालाई लघुवित्त क्षेत्रका लागि उदाहरणीय संस्थाका रूपमा स्थापित गर्नुपर्ने दायित्वसमेत आफूसँग रहेको बताए ।

बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त र बनेपामा केन्द्रीय कार्यालय रहेको आरम्भ लघुवित्त ‘मर्ज’ भएर आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था बनेको हो ।

एकीकृत संस्थाले गत असार २२ देखि एकीकृत कारोबार सुरु गरेको थियो । नेपाल राष्ट्र बैंकले उनीहरुलाई एकीकृत कारोबार सुरु गर्न २०७६ सालको फागुन १८ गते अन्तिम स्वीकृति दिएको थियो ।

हाल संस्थाको चुक्ता पुँजी २६ करोड ३४ लाख ४८ हजार रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय